१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौँ उडेका विमानहरू जब जनकपुर विमानस्थलमा अवतरण हुन थाले

विभिन्न स्थानबाट काठमाडौँका लागि उडेका विमानहरू जनकपुर विमानस्थलमा होल्ड अवस्थामा। तस्बिर/नागरिक

मौसम प्रतिकुल हुँदा विभिन्न स्थानबाट काठमाडौँका लागि उडान भरेका जहाजहरू जनकपुरमा होल्ड हुँदा केहीबेर यात्रुहरू बिचल्लीमा परेका छन्। आज बिहान विराटनगरबाट काठमाडौँ, भरतपुरबाट पोखरा र माउन्टेन फ्लाइट जनकपुर विमानस्थलमा होल्ड हुँदा २ सयभन्दा बढी यात्रु बिचल्लीमा परेका थिए।

आज बिहान ७ बजे विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो।

त्यस्तै बिहान ७ बजे भरतपुरबाट काठमाडौँका लागि उडान भरेको बुद्ध एयरलाइन्सको विमान काठमाडौँको मौसम प्रतिकुल हुँदा जनकपुर विमानस्थलमा बिहान ८ः३२ बजे अवतरण गराइएको थियो भने बुद्ध एयरलाइन्सकै माउन्टेन फ्लाइट पनि जनकपुर विमानस्थलमै बिहान ८ः३८ बजे अवतरण गराइएको थियो।

जनकपुर नागरिक उड्ययन प्राधिकरणका विकास झाका अनुसार जनकपुरमा बिहान ८ बजेदेखि १० बजेसम्म काठमाडौँका लागि उडान भरेको विभिन्न स्थानका विमानलाई इनरुट वेदर खराबीका कारण जनकपुरमा झन्डै २ घन्टा होल्ड गराइएको हो।

उनले काठमाडौँको मौसम खराब हुँदा काठमाडौँका लागि उडान भरेको विभिन्न स्थानका ३ जहाजलाई जनकपुरमा केहीबेर होल्ड गरिएको बताए।

विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान बिहान १०ः१६ बजे, भरतपुरबाट काठमाडौँका लागि उडान भरेको बुद्ध एयरको विमान बिहान ९ः४७ बजे र बुद्ध एयरको माउन्टेन फ्लाइट बिहान १०ः३२ बजे पुनः काठमाडौँका लागि उडान भरेको झाले बताए।

उनका अनुसार जनकपुर विमानस्थल नजिक परेकाले सबै विमानलाई यहाँ होल्ड गराइएको थियो।

उनले मौसम प्रतिकुलताका कारण जनकपुर विमानस्थलबाट हुने नियमित उडान पनि केहीबेर प्रभावित बनेको बताए। काठमाडौँको मौसम खराबीका कारण भिजिबिलिटी नहुँदा नियमित उडान आज दिनभरजसो प्रभावित हुने पनि उनले बताए।

यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा आन्तरिक तर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन। तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेका छन्।

प्रकाशित: १५ चैत्र २०८० १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App