१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बुद्धभूमिमा दलित ज्ञान उत्सव

दलित समुदायका कला तथा सीपहरूबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक दलित ज्ञान उत्सव कार्यक्रम आयोजना हुने भएको छ। दलित रिडर र रूपन्देहीको तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा त्यस्तो कार्यक्रम हुन लागेको हो। कार्यक्रम यही चैत १४ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिकामा सञ्चालन हुनेछ।

कार्यक्रममा दलित समुदायमा उत्पादित ज्ञान, सीप र सामग्रीबाट बनेका औजारहरूको प्रदर्शन गरिनेछ। लुगा सिउने र भाँडा बनाउने औजारका साथै भाँडाकुँडा, जुत्ता, बाजागाजा ज्ञान उत्सवमा राखिनेछन्। ‘दलित समुदायका मानिसहरूले जुत्ता बनाउँदा प्रयोग गर्ने सामग्री प्रशोधनका लागि आवश्यक पर्ने औजारहरू पनि कार्यक्रममा राखिनेछन्,’ दलित रिडरकी अध्यक्ष रुक्मिनी नेपालीले भनिन्।

मानव समाज सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, सीप र कला दलित समुदायस“ग पर्याप्त भए पनि तिनको सम्मान तथा प्रवर्धन हुन नसकेकाले यस्तो कार्यक्रम आयोजना गरिएको नेपालीले बताइन्। ‘फलाम प्रशोधन गर्दै आएको भनेर दलित समुदायको इतिहास छ तर अहिले यो काममा दुई जना मात्र संलग्न रहेको पाइएको छ,’ उनले भनिन्।

त्यसैगरी दलितका विभिन्न पेसाहरूको आधुनिकीकरण हुन नसक्दा र दलित समुदायमाथि गरिने अपमान सो समुदायका ज्ञान र सीपमाथि हुँदै आएका कारण त्यस्ता ज्ञान र सीपको जगेर्नाका साथै आत्मसम्मानमा उत्सवबाट पे्ररणा मिल्ने अपेक्षा गरिएको उनको भनाइ छ।

दलित समुदायले परम्परागत रूपमा गर्दै आएका पेसा गैरदलित समुदायले अपनाउँदा सम्मानित हु्ने जुन प्रवृत्ति छ, त्यसविरुद्ध पनि चेतना फैलाउन दलित ज्ञान उत्सव कार्यक्रमबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरिन्।

‘त्यही जुत्ताको काम गैरदलित समुदायले गर्दा घृणा नहुने? लुगाको काम अन्य जातिले गर्दा अपमानित नहुने तर दलितले गर्दा घृणित हुने?’ उनले प्रश्न गरिन्। उनका अनुसार विगतमा सारंगी बजाएर गीतमार्फत समाजका विविध घटना–परिघटना बताउने गन्धर्वको इतिहास गुमनाम भएको स्थितिलाई पनि कार्यक्रमले उठान गर्नेछ। कार्यक्रममा देशभरिका दलित समुदायले सहभागी जनाउने उनले बताइन्।

सहआयोजक त्रिलोत्तमा नगरपालिकाले समानता र करुणाका खानी गौतम बुद्धको भूमिबाट दलित ज्ञान उत्सव कार्यक्रम हुनु आफैंमा दलित समुदायको सामाजिक न्यायका लागि उल्लेखनीय कदम हुने नगर प्रमुख रामकृष्ण खाँडले बताए।

‘ज्ञान उत्सवले दलित समुदायको गुमेको आत्मसम्मान र ज्ञान जगाउने मात्र नभएर देशको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा लिएका छौं,’ उनले भने। तीन दिन चल्ने कार्यक्रममा दलितहरूको सांगीतिक प्रस्तुतिका साथै दलितसम्बन्धी विभिन्न विषयमा १५ वटा सेसनमा विमर्श हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०८० ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App