९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘पलेँटी’मा संगीता प्रधान

सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक ‘पलेँटी’ मा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन्। ‘पलेंटी’मा सन् २००७ मा पहिलो पटक गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन्।

संगीताले शास्त्रीय गायनमार्फत ‘पलेँटी’लाई सांगीतिक प्रस्तुति दिनेछिन्। उनी ‘पलेँटी’को कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन्। कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामा प्रस्तुत गर्ने उनको तयारी छ। १८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित छन्।

उनी भन्छिन्, ‘पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, म उत्साहित छु। पलेँटीका श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैं आनन्दित बनाउँछ। खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म ‘नोस्टाल्जिक’ बन्ने गर्छु।’

२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन्। आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी–क्लासिकलको मिश्रण हुनेछ। खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ। मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु।’

संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ–शिल्पी हुन्। विश्वभारती विश्वविद्यालय शान्ति निकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छन्।

पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मञ्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन्। ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजी, शान्ति ठटाल, मानवीर सिंह, गुरुदेव कामत, अमृत गुरुङ र आभासले भरेका छन्। पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुने गरेको छ।

प्रकाशित: १० वैशाख २०८२ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App