४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
राजनीति

आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले मतदाताले कुनै अवरोधबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा धारणा राख्दै संयोजक दाहालले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलाई लिएर विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको बताए। 

आगामी निर्वाचनमा यस्ता समस्या दोहोरिन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो।

उनले विगतमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको तथा मतपेटिका ओसारपसार गर्दा उम्मेदवारका प्रतिनिधिलाई सहभागी नगराइएको जस्ता गुनासा गर्ने गरेको स्मरण गराए।

यस्ता विवादको अवस्था आउन नदिन आयोगले सुरुदेखि नै निर्वाचन व्यवस्थापनमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए।

प्रचण्डले अघिल्लो निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनका लागि राजनीतिक दल तथा नेताहरूले खेलेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने धारणा राखे।

उनले निर्वाचनमा प्राप्त मत र जित–हार मात्र नभई लोकतान्त्रिक व्यवस्था संस्थागत गर्न दलहरूले गरेको योगदान पनि महत्त्वपूर्ण रहेको बताए।

निर्वाचनको समयतालिकाबारे बोल्दै उनले संविधान र कानुनको व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्नु उपयुक्त हुने बताए।

स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको उनको भनाइ थियो। यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई प्रचण्डले विशेष प्राथमिकता दिए। 

शान्ति सम्झौतापछि पहिलो संविधानसभा निर्वाचनकै समयदेखि आफूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने आवाज उठाउँदै आएको उनले बताए।

विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न कानुनी र प्राविधिक पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको उनको भनाइ छ। उनले विदेशमा धेरै नेपाली नागरिक रहेका मुलुकका सरकारसँग नेपालले द्विपक्षीय संवाद गर्नुपर्ने र निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्नुपर्ने बताए।

दुई चरणमा निर्वाचन गर्ने विषयमा भइरहेको छलफलका सम्बन्धमा भने उनले निर्वाचन आयोगको प्रस्ताव र सुझाव अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि मात्रै थप निर्णय लिने बताएका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App