१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्। त्यसैगरी, २५ वर्षीया दृष्टिविहीन मेनुका पौडेलले भारतीय रियालिटी सो इन्डियन आइडलको उत्कृष्ट १० मा पुगेर सबैका निम्ति प्रेरणा बनिन्।

माइती नेपालले बुधबार ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यी दुई प्रेरक महिलालाई सम्मान गरेको हो। रामेछापको चरिकोट अड्डामा जन्मिएकी ८१ वर्षीय सुनुवार र झापाको हल्दीबारीमा जन्मेकी २५ वर्षीय पौडेलले गरेका कामबाट समाजले प्रेरणा लिइरुहेको छ।

गत साउनमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्दा बानेश्वर क्याम्पसबाट सुनुवारले २.६४ जिपिएमा उत्कृष्ट नतिजा ल्याएकी थिइन्। दृढ संकल्प र इच्छा शक्ति भए पढाइलाई उमेरले नछेक्ने सन्देश उनले दिएकी हुन्। उनको प्रेरणादायी कामको माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले प्रशंसा गरिन्।

सुनुवारले माइती नेपालका बालबालिकालाई समेत राम्ररी पढ्न प्रेरणा दिएकी थिइन्। ‘अचेल बालबालिकालाई पढन कर लगाउनु पर्छ,’ सुनुवारले भनिन्, ‘तिनलाई पढ्नुपर्छ भन्ने सन्देश दिन पनि मैले यो उमेरमा पढ्ने कोशिस गरेकी हुँ।’ सुनुवारले माइती नेपालका बालबालिकालाई राम्रोसँग अध्ययन गर्न, आफ्ना सपना साकार पार्न र कडा परिश्रम गर्न हौसला दिएकी थिइन्।

दृष्टिविहीन भएर पनि इन्डियन आइडलमा गहिरो छाप छाड्न सफल पौडेलका आमाबुवा र दुई बहिनी छन्। सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा धेरै वर्ष मलेसियानै बसेर परिवारको अर्थिक भार थामिरहेका थिए। इन्डियन आइडलमा पौडेलले विदेसिएका बुवालाई घर फर्काउने र आफू सक्षम बन्ने चाहना रहेको उनले बताइन्।

सानै उमेरमा परिवारको जिम्मेवारी सम्हाल्न थालिसकेकी यी गायिका जन्मदै आँखा नदेख्ने थिइन्। आमाबुवाले उनलाई झापाकै गरामुनी भन्ने ठाउँमा रहेको दुर्गा माध्यामिक विद्यालयको होस्टलमा राखिदिए जहाँ अन्य दृष्टिविहीनहरूसँगै संगीतसँग साक्षात्कार भएको हो।

‘माइती नेपालमा मेरो पहिलो पाइला हो,’ उनले भनिन्, ‘माइती नेपालद्वारा सम्मानित हुदाँ धेरै गर्विलो अनुभूति भएको छ। आजैदेखि अझै मेहनत गर्नपर्छ भन्ने महसुस पनि गरे। यहाँ धेरै भाइबहिनीलाई देख्न पाउँदा खुसी लाग्यो।’

उनको जीवनको सांगीतिक यात्रा भर्खर सुरू भएको भन्दैँ अध्यक्ष कोइरालाले हौसला प्रदान गरिन्। ‘पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिनेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन,’ उनले भनीन्। प्रचलित इन्डियन आइडल सिजन १४ मा गायनको दौरानमा निर्णायकहरू तथा दर्शकहरूलाई प्रभावित हुदैँ अडिसन राउन्डको प्रतिष्ठित गोल्डेन माइक जित्न सफल भएकी थिइन्।

भारतीय राजदूतावासका डेपुटी चिफ–अफ–मिसन प्रसन्न श्रीवास्तवले माइती नेपाललाई सधैं सघाउने आश्वासन दिए। उनले लैंगिक समानता, सामाजिक–आर्थिक र सांस्कृतिक समानता प्रवद्र्धन र महिला सशक्तीकरणलाई नयाँ उचाइमा पु¥याउन आफ्नो सहयोग रहने बताए।

‘अनुशासनले मानिसलाई माथि पु¥याउँछ, अनुशासन भए जो कोहीले जे पनि गर्न सक्छन्,’ कोइरालाले भनिन्, ‘८० वर्षीया रत्न कुमारीलाई पढ्न उमेरलाई छेकेन र सानो उमेरमा मेनुका पौडेलले गाएको गायनमा सरस्वतीको बास छ। पौडेलको गीतले सबैलाई प्रभावित बनाउँछ। तपाईहरू जस्तो महिलालाई राज्यले पुस्कार गर्नुपर्नेमा हामी जस्तो सानो सस्थाले सम्मान गर्‍यौं।’

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रमलाई चिर्नुपर्ने बताइन्। ‘महिलामाथिको हिंसा र विभेद राष्ट्रिय विषय हो,’ उनले भनिन्, ‘छोरी भनेर आमाको गर्भदेखिनै भ्रूण हत्या गरिन्छ। त्यो अपराध हो। महिलालाई सम्मान गर्नसके उनीहरूले गर्न नसक्ने केही छैन।’

प्रकाशित: २४ फाल्गुन २०८० ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App