खोटाङ सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ स्थित स्वास्थ्यचौकीमा सञ्चालन गरिएको स्क्रिनिङ शिविरमा एउटै वडाका ३६ जना महिलामा पाठेघर खसेको समस्या पहिचान भएको हो।
स्वास्थ्यचौकीमा आयोजित शिविरमा पहिचान भएका पाठेघर खसेका महिलाहरूलाई निःशुल्क शल्यक्रियासहित उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएको छ। वडा नम्बर १५ का वडाध्यक्ष दिनेश राईका अनुसार स्क्रिनिङमा समस्या देखिएका ३६ जनामध्ये पहिलो चरणमा १८ जनालाई शल्यक्रियाका लागि अस्पताल लगिएको हो।
अस्पतालमा शल्यक्रियासहित सबैखाले उपचार निःशुल्क गरिने व्यवस्था गरिएको छ। यसका लागि गाडी रिजर्भ गरी बिरामी र उनीहरूका एक/एक जना कुरुवासमेतलाई शीर मेमोरियल अस्पताल पठाइएको वडाध्यक्ष राईले जानकारी दिए। बाँकी १८ जना महिलालाई भने केही समयपछि सोही अस्पतालमा शल्यक्रियाका लागि पठाइने तयारी गरिएको छ।
बिरामी र उनीहरूका आफन्तको अस्पताल जाने–आउने, उपचार तथा खानबस्नेसमेतको सम्पूर्ण खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले व्यहोर्ने नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए। पाठेघर खसेर तेस्रो र चौथो डिग्रीको अवस्थामा पुगेकालाई अनिवार्य रूपमा शल्यक्रिया गर्नुपर्ने भएकाले तत्काल अस्पताल पठाइएको उनले स्पष्ट पारे।
नगरपालिकाले यसअघि पनि पाठेघर खसेका महिलालाई निःशुल्क शल्यक्रियासहित उपचार गराउँदै आएको छ। आचार्यका अनुसार पछिल्ला चार वर्षदेखि नगरपालिकाकै पहलमा यस्तो उपचार निरन्तर हुँदै आएको हो।
पाठेघर खसेका महिलाहरूलाई लिएर नगरप्रमुख तीर्थराज भट्टराई, कार्यपालिका सदस्य मीना कार्की, वडा नम्बर १ का सदस्य बलराम आचार्य तथा नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यसहितको टोली स्वयं अस्पताल पुगेको छ। शुक्रबार अस्पताल पुगेको टोली सबैको उपचार सम्पन्न नभएसम्म त्यहीँ रहने र उपचार सकेपछि सँगै फर्कने कार्यक्रम रहेको जनाइएको छ।
गुप्ताङ्गसँग सम्बन्धित रोग भएकाले धेरै महिलाले लाजका कारण समयमै स्वास्थ्य परीक्षण नगर्दा समस्या जटिल बन्ने गरेको नगरप्रमुख भट्टराईले बताए। रोगबारे अज्ञानता, सचेतनाको कमी र सामाजिक लाजका कारण उपचार नगर्दा ज्यानसम्म जाने जोखिम नहोस् भन्नका लागि नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गरी पाठेघरको परीक्षण गराउँदै आएको उनको भनाइ छ।
महिलाको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै समस्या देखिनासाथ परीक्षण र उपचारको पहुँच सुनिश्चित गर्न नगरपालिकाले गाउँ–टोल–बस्ती स्तरमै पुगेर स्क्रिनिङ शिविर सञ्चालन गर्दै आएको जनाएको छ। नगरबासीको स्वास्थ्य सुरक्षा र सम्मानजनक जीवन सुनिश्चित गर्नु जनप्रतिनिधिको कर्तव्य ठानेर यस्ता कार्यक्रम अघि बढाइएको नगरप्रमुख भट्टराईले बताए।
प्रकाशित: ९ माघ २०८२ २१:२० शुक्रबार





