सन् २०२५ हालसम्मकै तेस्रो तातो वर्ष बनेको छ । युरोपियन युनियनअन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकअनुसार तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रूपमा सन् २०२५ देखिएको हो । सन् १८५० देखि औपचारिक हिसाबमा विश्वको तापमानको अभिलेख राख्न थालिएको हो । हालसम्मकै तातो वर्ष रहेको सन् २०२४ र दोस्रो तातो वर्ष सन् २०२३ रहेका छन् । सन् २०२४ भन्दा यो वर्ष ०.१३ डिग्री सेन्टिग्रेड र २०२३ भन्दा ०.०१ डिग्री सेन्टिग्रेड मात्र कम भएको बताइएको छ ।
पछिल्ला ११ वर्ष हालसम्मकै ताता वर्ष बनेका छन् । औद्योगिक क्रान्तिको पूर्व अवधि (१८५०–१९००) को तुलनामा पछिल्ला तीन वर्ष (२०२३–२०२५) मा विश्वको औसत तापक्रम १.५ डिग्रीभन्दा बढीले वृद्धि भएको छ । लगातार तीन वर्षमा सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले बढेको यो पहिलो पटक हो । विश्वव्यापी रूपमा जमिनमाथिको वायुको तापक्रमका हिसाबले सन् २०२५ तेस्रो सबैभन्दा तातो वर्ष रह्यो । सन् २०२५ मा एन्टार्कटिकाले सबैभन्दा तातो वार्षिक सरदर तापक्रम र आर्कटिकले दोस्रो सबैभन्दा तातो तापक्रम अनुभव गर्यो ।
युरोपियन सेन्टर फर मेडियम रेन्ज वेदर फोरकास्ट्स (इसिएमडब्लुएफ) ले सञ्चालन गर्ने कपर्निकस क्लाइमेट चेन्ज सर्भिस र कपर्निकस एट्मसफेरिक मोनिटरिङ सर्भिसले नासा, विश्व मौसम संगठनलगायत संस्थाको समन्वयमा यी तथ्याक सार्वजनिक गरेका हुन् । विभिन्न विधिले गरेको आकलनअनुसार औद्योगिक क्रान्ति हुनुअघिको अवधिको तुलनामा हाल विश्वको दीर्घकालीन विश्वव्यापी तापमान करिब १.५ डिग्री सेन्टिग्रेडले बढिसकेको छ ।
जलवायु सम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धिलाई २ डिग्री सेन्टिग्रेडभन्दा बढीले बढ्न नदिने र सकेसम्म १.५ डिग्री सेन्टिग्रेडमै सीमित राख्ने लक्ष्य लिएको छ । हालको तापमान वृद्धिदरका आधारमा पेरिस सम्झौताले तोकेको दीर्घकालीन विश्वव्यापी तापवृद्धिको १.५ डिग्रीको सीमा यस दशकको अन्त्यसम्ममै तोडिन सक्ने सक्ने देखिन्छ । उक्त सम्झौता हस्ताक्षर हुँदा रहेको तापमान वृद्धिदरका आधारमा गरिएको आकलनभन्दा एक दशकअघि नै यो वृद्धि देखिएको छ ।
पछिल्ला तीन वर्ष असाधारण रूपमा तातो हुनुमा दुई मुख्य कारण छन् । पहिलो कारण निरन्तर कार्बन बढ्दो उत्सर्जन र प्राकृतिक ‘सिंक’हरूले कार्बन डाइअक्साइड न्यून मात्रामा अवशोषण गर्नु हो । यसले वायुमण्डलमा हरितगृह ग्यासको सञ्चय बढेको छ । दोस्रो कारण, सामुद्रिक मौसमी प्रक्रिया ‘इल निनो’ र अन्य महासागरीय परिवर्तनशीलता र जलवायु परिवर्तनका कारण तीव्र रूपमा समुद्र सतहको तापक्रम उच्च हुनु हो । यसबाहेक हावामा रहेका अत्यन्त साना ठोस तथा तरल कण (एरोसोल) र बादलको मात्रामा परिवर्तन तथा वायुमण्डलीय परिसञ्चरणमा आएको उचारचढावले पनि यो बढोत्तरीका लागि भूमिका खेलेका छन् ।
कपर्निकसका अनुसार सन् २०२३ र २०२४ मा जस्तै २०२५ मा पनि विश्वको अधिकांश भूभाग औसतभन्दा धेरै तातो रह्यो । उष्णकटबन्धीय क्षेत्रमा वायु र समुद्री सतह तापक्रम सन् २०२३–२०२४ भन्दा केही कम रहे पनि बाहिरका धेरै क्षेत्र औसतभन्दा धेरै ताता रहे । तापमानमा भएको वृद्धिसँगै सन् २०२५ मा विश्वको आधा जमिनी भूभागले औसतभन्दा बढी दिनमा ३२ डिग्री सेन्टिग्रेड अथवा सोभन्दा माथिको तापमानजन्य तनाव (हिट स्ट्रेस) महसुस गरेको छ । तापमानजन्य तनावलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मौसमसम्बन्धी विश्वव्यापी मृत्युकै प्रमुख कारणका रूपमा मान्यता दिएको छ । उच्च तापक्रमले सुक्खा लाग्ने र प्रायः हावाहुरी चल्ने क्षेत्रहरूमा असाधारण डढेलो फैलिन र तीव्र हुन मद्दत गर्ने गरेको छ र यसले कार्बन, विषाक्त वायुका कण र ओजोन उत्पादन गर्छ । वैज्ञानिकका अनुसार यी सबैले मानव स्वास्थ्यमा गम्भीर असर पार्छन् ।
स्मरणीय छ सन् २०२५ मा असाधारण मौसमी घटनाहरू भएका छन् । विश्वका कतिपय क्षेत्रमा आएको तातो लहर, युरोप, एसिया र उत्तर अमेरिकामा भीषण आँधी तथा स्पेन, क्यानडा र दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलो यसका केही उदाहरण हुन् । वैज्ञानिकका अनुसार विश्वका तापक्रममा लगातार देखिएको बढोत्तरीका लागि मानविय गतिविधि जिम्मेवार रहेका छन् । ‘वायुमण्डलले हामीलाई सन्देश दिइरहेको छ र हामीले त्यसलाई सुन्नैपर्छ,’ कोपर्निकस वायुमण्डलीय निगरानी सेवाका निर्देशक लरेन्स रूइलले एक विज्ञप्तिमा भनेका छन् ।
कोपर्निकस नीति निर्माता, व्यवसाय, शैक्षिक समुदाय र युरोप तथा विश्वभरका नागरिकलाई निर्णयका लागि भरपर्दो, स्वतन्त्र जलवायु तथा वायुमण्डलीय जानकारी उपलब्ध गराउन स्थापना गरिएको निकाय हो ।
प्रकाशित: ९ माघ २०८२ २१:५० शुक्रबार




