२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीबाट संसद्को यात्रामा तम्सिँदै विमला

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारी दर्ताले महिला नेतृत्वको खडेरी देखाएको छ । तर नेतृत्वका लागि दाबी गर्दै अघि बढ्ने महिलाको पंक्तिमा नुवाकोटकी चेली र सिन्धुपाल्चोककी बुहारी विमला लामा पनि छिन् । महिला आवाज संसद्सम्म पुर्‍याउने लक्ष्यका साथ उनी चुनावी अभियानमा होमिएकी हुन् । 

विमला वैदेशिक रोजगारीमा दक्षिण कोरिया बसेर स्वदेश फर्किएकी कर्मशील महिला हुन् । कोरियामा बिताएका वर्षहरू उनका लागि रोजगारीको अनुभव मात्र होइन, नेतृत्व, चेतना र आत्मविश्वास निर्माणको पाठसमेत बनेको छ । स्वदेश फर्किएपछि व्यवसाय र समाजसेवामा सक्रिय उनी अहिले राजनीतिमार्फत समाज परिवर्तन गर्ने अठोटका साथ चुनावी मैदानमा उभिएकी हुन् ।

महिला सशक्तीकरणलाई मूल अजेन्डा बनाउँदै उनले काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएकी उनी प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिह्न लिएर मतदाताको घरदैलोमा पुगिरहेकी नागरिकसँग बताइन् । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने अडानसहित उनी महिलाहरूको वास्तविक अवस्था संसद्सम्म पुर्‍याउने लक्ष्यमा रहेको बताउँछिन् । महिला, युवा र पछाडि पारिएका वर्गलाई अगाडि ल्याउनु, महिलालाई सिपमूलक तालिम र सुशासनसहित समृद्ध नेपाल निर्माण गर्नु उनको राजनीतिक प्रतिबद्धता हो ।

विमलाले आफू सम्पूर्ण नेपाली महिलाको प्रतिनिधि आवाज लिएर राजनीतिमा उत्रिएको बताइन् । ‘महिला चुलो–चौकामा सीमित हुनुहुँदैन,’ नागरिकसँग उनले भनिन्, ‘नेतृत्व तहमा पुगेर देश हाँक्न सक्षम हुनुपर्छ भन्ने विश्वाससहित चुनावी मैदानमा आएकी हुँ ।’ उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी विमलाले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो राजनीतिक यात्राको मूल आधार मानेको बताइन् । 

‘मेरा लागि उद्देश्य केवल पद प्राप्ति होइन, महिला सशक्तीकरणको जग हाल्नु हो,’ उनले भनिन्, ‘आत्मनिर्भर अर्थतन्त्र, युवा–महिला र पछाडि पारिएका वर्गलाई मूलधारमा ल्याउनु प्राथमिकता हो ।’ पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै महिलाका हकअधिकारका लागि जुट्ने उनको नीति स्पष्ट छ ।

‘महिला निर्णायक तहमा त पुगेका छन् तर नेतृत्व लिन सकेका छैनन्,’ उनी भन्छिन्, ‘त्यसैले म नेतृत्व तहमा पुगेर महिलाको वास्तविक अवस्था बुझ्न र आवाज उठाउन राजनीतिमा आएकी हुँ ।’ नेपालको जनसंख्याको ५१ प्रतिशत महिला हुँदाहुँदै पनि महिलाहरू अझै पछि पर्नुपरेको यथार्थप्रति उनले चिन्ता प्रकट गरिन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ समर्थित दल रहेको उज्यालो नेपाल पार्टीले पछिल्लो समय देखिएको जेनजी आन्दोलनको भावना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्य लिएको उनले बताइन् । सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्र केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशिता उज्यालो नेपाल पार्टीका मुख्य अजेन्डा हुन् । ‘व्यक्ति केन्द्रित नभई समग्र नेपाली समाजको मुहार उज्यालो बनाउने अभियान हो,’ उनले भनिन्, ‘उज्यालो नेपालले नवीनता, प्रविधिमैत्री शासन व्यवस्था र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेको छ ।’

उनको नजरमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, सारू, मुस्लिम, अल्पसंख्यक सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, विपन्न वर्ग र पिछडिएका क्षेत्रलाई प्राथमिकता राखिनेछ । त्यस्तै आर्थिक क्षेत्रमा कृषि, पर्यटन, उद्योग, जलविद्युत्, पूर्वाधार विकास, उद्यमशीलता र दक्ष मानव स्रोत विकासलाई प्राथमिकता दिइनेछ । युवा–केन्द्रित रोजगार नीति, वातावरण संरक्षण र जलवायु न्याय पनि पार्टीका प्रमुख एजेन्डा रहेको उनले बताइन् ।

यसरी महिला सशक्तीकरणको आवाज बोकेर विमला र नयाँ राजनीतिक संस्कृतिको दाबी गर्दै उज्यालो नेपाल पार्टी चुनावी मैदानमा उत्रिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कुल तीन हजार चार सय जना उम्मेदवारमध्ये तीन सय ९५ जना मात्रै महिला छन् । उज्यालो नेपाल पार्टीले देशभर करिब एक सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । संवैधानिक रूपमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहे पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको प्रतिनिधित्व अझै कमजोर रहेको तथ्यांकले देखाएको छ ।

प्रकाशित: ९ माघ २०८२ २२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App