फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूमध्ये केही यस्ता पनि छन्, जसलाई सधैंका उम्मेदवारको संज्ञा दिन सकिन्छ । तीमध्ये केही त पञ्चायत, बहुदल र गणतन्त्र तीनवटै शासन व्यवस्थामा उम्मेदवार भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डे पञ्चायतकालदेखि हालसम्म लगातर निर्वाचन लड्दै आएका छन् ।
२०४३ सालको पञ्चायतकालीन निर्वाचनमा उनले पहिलोपटक भाग लिएका थिए । त्यतिबेला उनी जिल्ला पञ्चायत सभापति भएका थिए । २०४८ सालदेखि हालसम्म उनी निरन्तर उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा उनी प्रदेशसभा सदस्यका उम्मेदवार रही विजयी भएका थिए । हाल धादिङ–१ बाट उम्मेदवार रहेका पाण्डे निरन्तर त्यही क्षेत्रबाट प्रत्यासी बन्दै आएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लामो समयदेखि निरन्तर उम्मेदवार रहँदै आएका छन् । उनले २०४८ सालमा पहिलो पटक निर्वाचन लडेका थिए । त्यतिबेला उनले झापा–६ मा उम्मेदवारी दिएर विजय हासिल गरेका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा भने उनी पराजति भए । अरू सबै निर्वाचन उनले जितेका थिए ।
हाल ओलीले झापा–५ बाट उम्मेदवारी दिएका छन् । यसैगरी एमालेका अर्का नेता विष्णु पौडैल पनि सदावहार उम्मेदवार हुन । २०४८ सालदेखि हालसम्म उनले लगातर उम्मेदवारी दिँदै आएका छन् । २०४८ सालको निर्वाचनमा उनले पाल्पाबाट उम्मेदवारी दिएका थिए । यतिबेला भने उनले रूपन्देही–२ मा उम्मेदवारी दिएका छन् ।
यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट हाल सर्लाही–२ मा उम्मेदवारी दिएका राजेन्द्र महतो पनि सदाबहार उम्मेदवार हुन । उनले २०४८ सालदेखि हालसम्म निर्वाचन लड्दै आएका छन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राप्रपामा प्रवेश गरेका कमल थापाले पनि यसअघि पटकपटक निर्वाचन लड्दै आएका छन् ।
कुनै बेला प्रत्यक्ष र कुनै बेला समानुपातिक निर्वाचन प्रणालीबाट उनले उम्मेदवारी दिँदै आएका छन् । थापानिकट स्रोतका अनुसार यसपटक उनले आठौं पटक उम्मेदवारी दिएका छन् । यतिबेला उनले काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन् । २०४८ सालपछि उनले हरेक निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन् ।
२०४८ सालमा मकवानपुर–१ मा उम्मेदवारी दिए । त्यो बेला पराजित भए तर २०५१ सालमा उनी मकवानपुर–२ बाट विजयी भए । थापाले राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका छन् । उनको गृह जिल्ला मकवानपुर हो । त्यसैले सबैजसो निर्वाचनमा उनी मकवानपुरबाट लड्दै आएका छन् । यसपटक भने उनी जिल्ला नै परिवर्तन गरी काठमाडौं आएका छन् ।
यसैगरी नेपाली कांग्रेसका नेता विजय गच्छदारले पनि पटकपटक उम्मेदवारी दिँदै आएका छन् । उनले पार्टी पनि पटकपटक फेरेका छन् । सुरुमा उनले आफू आबद्ध दल नेपाली कांग्रेसबाट निर्वाचन लडेका थिए । २०४८ सालमा उनले सुनसरी–२ मा उम्मेदवारी दिए र विजयी भए । त्यसपछि २०५१ सालमा पनि उनी उम्मेदवार दिए । त्यतिबेला उनी पराजित भए ।
त्यसपछि विजयी हुने र पराजित हुने क्रम जारी रह्यो । यतिबेला उननले सुनसरी–३ बाट उम्मेदवारी दिएका छन् । २०६४ सालको संविधानसभाको निर्वाचन हुनुअघि गच्छदार नेपाली कांग्रेसबाट तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरे । त्यतिबेला फोरमबाटै उम्मेदवारी दिए । त्यो निर्वाचनमा उनी विजयी भए । त्यसपछि उनले आफैंले पार्टी खोले ।
पार्टीको नाम मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) राखे । अहिले भने उनी कांग्रेसमै फर्किसकेका छन् । यतिबेला लमजुङमा उम्मेदवारी दिएका पृथ्वी सुब्बा गुरुङ पनि सदाबहार उम्मेदवार हुन् । पञ्चायनकालीन चुनावमा पनि उनले उम्मेदवारी दिएका थिए । २०४३ सालमा भएको तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उनले भाग लिएका थिए । त्यसपछि चुनाव लड्ने क्रम जारी छ । गुरुङ नेकपा एमालेका नेता हुन् ।
यसपटक महोत्तरी–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारीले पनि यसअघि लगातर नौ पटक निर्वाचन लडे । यस पटक उनको दसौं उम्मेदवारी हो । भण्डारीनिकट स्रोतले दिएको जानकारीअनुसार सुरुमा उनले २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा प्रतिस्पर्धा गरे ।
त्यतिबेला उनले महोत्तरीबाट उम्मेदवारी दिएर र जित हासिल गरेका थिए । त्यसैगरी दोस्रो चुनाव २०४३ मा पनि सहभागी भए । त्यो चुनाव पनि रापसकै लागि थियो । त्यो पनि बेला पनि उनी विजयी भए । त्यो बेला पनि उनले महोत्तरी–२ बाट उम्मेदवारी दिएका थिए । २०४६ सालको परिवर्तनपछि पनि उनी उम्मेदवार हुन छाडेनन् ।
२०४८ सालमा उनले राप्रपाबाट महोत्तरी–५ मा चुनाव लडे । भण्डारीले धेरै पटक चुनाव लडेको रेकर्ड मात्र बनाएका छैनन्, धेरै पटक मन्त्री भएको रेकर्डसमेत बनाएका छन् । उनी २० पटकसम्म मन्त्री भइसकेका छन् ।
प्रकाशित: ९ माघ २०८२ २१:३२ शुक्रबार





