१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी बल: लोकतन्त्रमै जन्मियो, हुर्कियो

सशस्त्र प्रहरीले अनेक आरोहअवरोह पार गर्दै २५ वर्ष पार गरेको छ। सशस्त्र प्रहरी बलले २५ वर्ष पूरा गरेको अवसरमा शुक्रबार विविध कार्यक्रमसहित बधाई आदानप्रदान गरिएको छ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोह समयक्रमसँगै चर्कंदै गएपछि मुलुकमा अर्धसैन्य फौजको महसुस भयो। माओवादी विद्रोहका कारण शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीलाई कठिन परिरहेको थियो। अपराध अनुसन्धान र कानुनको पालना गराउने प्रहरीलाई सशस्त्र विद्रोहीले निसानामा पारिरहेका बेला अर्धसैन्य फौजको आवश्यकता महसुस भएको थियो।

२०५७ असोज ८ र ९ गते डोल्पाको सदरमुकाम दुनै माओवादी विद्रोहीले कब्जामा गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्न खोजेका थिए। माओवादीको दुनै आक्रमणमा १४ जना प्रहरी मारिए, ४० प्रहरी घाइते भए। सोही बेला विद्रोहीले ६ करोड रुपैयाँ नेपाल बैंकबाट लुटेर लगेका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारीको निवास ध्वस्त पारिएको थियो। दुनैमा आक्रमण हुँदैछ भन्ने पूर्वजानकारी भएर पनि सरकारले रोक्न सकेन।

माओवादी विद्रोहीले दुनैमा आक्रमण गरेपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले सेना परिचालन गर्न खोज्दा राजदरबारले नमानेपछि सशस्त्र प्रहरी बलको अवधारणा ल्याइएको हो। सोही अवधारणाअनुरुप तत्कालीन समयमा शान्ति, सुरक्षा कायम गरी जनताको जिउधन र स्वतन्त्रताको रक्षा गर्न २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना गरियो। एक प्रकारले भन्ने हो भने सशस्त्र प्रहरीको जिम्मेवारी लोकतन्त्रको रक्षा गर्ने पनि हो। मुलुकमा सशस्त्र प्रहरी जन्मदा लोकतन्त्र थियो। लोकतन्त्रमा जन्मिएको प्रहरी लोकतन्त्रमै हुर्किरहेको छ।

तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सुझावबमोजिम राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै सशस्त्र प्रहरी बल गठन भयो।

सशस्त्र प्रहरी बल गठनसँगै यसले केही वर्ष राजाको प्रत्यक्ष शासन झेल्यो। राजाको सक्रिय शासनविरुद्ध २०६२/६३ को आन्दोलन भयो। त्यो आन्दोलनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो। यसको साक्षी सशस्त्र प्रहरी बल पनि हो।

सशस्त्र प्रहरी बल एक अर्धसैनिक सुरक्षा निकाय हो। माओवादी युद्ध चर्कंदै गएपछि सरकारले नेपाली सेना र नेपाल प्रहरीबाहेक अर्को एक अर्धसैनिक सुरक्षा अंगको खाँचो महसुस गरेकै कारण सशस्त्र प्रहरी बल जन्मिन पुगेको हो। सुरुमा सशस्त्र प्रहरी बलमा केही जनशक्ति नेपाली सेना र केही जनशक्ति नेपाल प्रहरीबाट लगिएको थियो नेपाली सेनाबाट सशस्त्र प्रहरीमा गएकाहरु करिबकरिब अवकाश भइसकेका छन्।

बलका वर्तमान अइजिपी राजु अर्याल प्रहरीबाट स्थान्तरण भएका हुन्। सशस्त्र प्रहरी बलका पहिलो आइजिपी कृष्णमोहन श्रेष्ठ हुन्। सुरूमा नेपाली सेनाबाट १२० र नेपाल प्रहरीबाट करिब १० हजार जनालाई सशस्त्र प्रहरी बलमा लगिएको थियो। अहिले यो संगठनमा ३७ हजार बढी दरबन्दी छ।

विभिन्न बिग्रेडका साथै सीमा क्षेत्र तथा महत्त्वपूर्ण क्षेत्र नजिकै स्थायी तथा अस्थायी आधार शिविरहरू रहेको यस बलको स्थापना प्रारम्भिक रूपमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी माओवादी विद्रोहीविरुद्ध लड्न सघाउ पुर्‍याउने उद्देश्यले गरिएको भए पनि यसको भूमिका समयक्रमसँगै विस्तार हुँदै गएको छ।

सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार नेपाल सरकारले सशस्त्र प्रहरी बललाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथक्तावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पुर्‍याउन एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्न सक्छ।

तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथक्तावादी तथा आतंककारी गतिविधि नियन्त्रण गर्नेलगायत १३ वटा कार्यादेश दिएको थियो। पछि पनि सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक, रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी थपिदियो। अहिले यो विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि ‘डेडिकेटेड फोर्स’ का रुपमा मजबुत हुँदै अघि बढ्दै छ।

सशस्त्र प्रहरी बलको पहिलो महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए। संस्थापक महानिरीक्षक श्रेष्ठलाई प्रातकालीन भ्रमणका बेला २०५९ माघ १२ गते विद्रोही माओवादीले गोली हानेर मारेका थिए। प्रहरी र विद्रोही माओवादी पक्षबिच भिडन्त बढ्न थालेपछि सरकारले सशस्त्र प्रहरीलाई नै द्वन्द नियन्त्रणमा अघि सार्‍यो। त्यसबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती हुन थाल्यो।

२०६१ मंसिसर १ गतेको निर्णयानुसार प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ हुन थाल्यो। सशस्त्र प्रहरीले २०६३ फागुन ८ देखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ। सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र दुई सय १५ वटा बिओपीमार्फत सीमा सुरक्षा गरिरहेको छ।

पछिल्लो पटक नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा पनि आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ।

अर्कोतर्फ मुलुकमा बाह्य हस्तक्षेप भए नेपाली सेनाको सहयोगी भूमिकामा सशस्त्र प्रहरी रहनेछ। यसका लागि नेपालको संविधानले सशस्त्र प्रहरी बललाई केन्द्रीय सुरक्षा फौजका रूपमा रहने व्यवस्था गरेको छ। सुरक्षा निकायहरू संघीयताको पूर्ण अभ्यासमा जाँदा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, व्यावहारिक सुरक्षा खाडललाई कसरी पूर्ति गर्न सकिन्छ भन्नेमा सशस्त्र प्रहरी सूक्ष्म अध्ययन र समीक्षासहित योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ।

सशस्त्र प्रहरीले २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाएको छ। रजत जयन्ती अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरीले बधाई आदानप्रदान लगायत कार्यक्रम गरेको छ।

प्रकाशित: १० माघ २०८२ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App