३० चैत्र २०८० शुक्रबार
समाज

बिर्सिएका लाहुरेनी

पोखरामा चलिरहेको लिटरेचर फेस्टिभलमा लाहुरेनीका कथा–व्यथा सुनाउँदै। तस्बिरः नागरिक

पोखराले पर्यटकीय सहरको पहिचान सबैतिर बनाईसकेको छ। घुमघामका लागि वर्षेनी लाखौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक पोखरा भित्रिन्छन। पर्यटनमा पोखराको छवी निकै नै फराकिलो बनिसकेको छ। गण्डकी प्रदेश सरकारले त पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेसम्मको तयारी गरिरहेको छ। आन्तरिक पर्यटनमा त जो कोहीले पनि घुम्न जाने ठाउँको कुरा गर्दा पहिलो गन्तव्यको रुपमा पोखरालाई बनाउँछन।  

तर, पोखरालाई चिनाउने अर्काे नाम पनि छ, त्यो हो ‘लाहुरेको सहर’। पर्यटन पछि पोखरा लाहुरेको सहरको रुपमा पनि परिचत छ। ‘गोरखा’ शब्दसँग निकै नै पूरानो साइनो पोखराले गाँसेको छ। यो साइनो अझै फराकिलो हुँदै पनि गएको छ। किनकी यहाँ ‘रिटायर्ड’ लाहुरे मात्रै होइनन् भर्ती भएर लाहुरे बन्नेको लर्को पनि पोखरामा बेलाबेला देखिन्छ। युवामा लाहुरेको मोह छ। त्यसका लागि बेलाबेला तालिम पनि भईरहन्छन। भर्तीका लागि लाम लाग्ने पनि भेटिन्छन।

पर्यटन पछि लाहुरेको सहरको परिचय कमाएको पोखराले ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलमा लाहुरेनीको कथा–व्यथा सुनायो। पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए। इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरैपटक लेखिएका छन। कतै बहादुरीको कथा त कतै इमान्दारीताको। तर, उनै लाहुरेका लाहुरेनीको कथा भने सधैं नेपथ्यमा हराइरह्यो। लाहुरेनीको योगदानबारे न त कतै लेखिए, न कतै बोलिए।  

गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनी जहिल्यै छायामै परेको लाहुरेनीका कथा–व्यथा सेसनका सहभागीले सुनाए। मिना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्म नै दुखाएको छ। विलिन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले फेवाताल किनारको महोत्सवमा सुनाईन।  

‘जे जति कथा सुनिए, ती सबै लाहुरेकै आयो, बहादुरी र विजयको। तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ,’ अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन्, ‘लाहुरे मात्र चिनिए, लाहुरेनी बिर्सिइए। गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भए। लाहुरेनीका कुरा बोलिदिने कोही भएनन।’

‘यो कथा–व्यथा, लाहुरेनीको योगदान र उसले निभाएको अहम् भूमिकालाई कसैले पनि चाँसो दिएन। समाजका यतिधेरै प्रवुद्ध व्यक्ति, इतिहासविद्, राजनीतिकर्मीले, साहित्यकारले पनि ध्यान दिएनन्’, गण्डकी प्रदेश सभाकी पूर्व सदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन्, ‘लाहुरेनी गुमनाम बने। जे जति चर्चा भयो, ती सबै लाहुरेका मात्र आए। उनै लाहुरेलाई साथ दिने लाहुरेनी सधै ओझेलमा परिरहे।’ पुस्तकमा समेत लाहुरेनीको कथा कतैं नलेखिएको उनको गुनासो छ। ‘गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएका हुन,’ उनले स्मरण गरिन्। आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयंको भोगाइ छ।

त्यस्तै लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष लामो समयपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताँउछिन्। लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन्। ‘जे जति कथा सुनिए, ती सबै लाहुरेकै आयो, बहादुरी र विजयको। तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ,’ अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन्, ‘लाहुरे मात्र चिनिए, लाहुरेनी बिर्सिइए। गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भए। लाहुरेनीका कुरा बोलिदिने कोही भएनन।’

शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता रहेको सुजनाले औल्याइन्। ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं,’ उनले भनिन्।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)  का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ पनि गोरखा महिलाले लडाँइमा श्रीमानको गुमाएर पनि पेन्सन नपाएको सुनाए। गाउँमा एकाथरी नाम, पल्टनमा अर्कोथरी हुँदा आर्थिक रुपमा उनीहरुको परिवार चेपुवामा परेको उनले बताए।  

‘कतिपयलको त प्रेमी फर्केर आउँछ भन्दाभन्दै जीवन बित्यो। उनीहरुले पेन्सन पनि पाएनन। यतिसम्मकी समाजले पनि नानाथरी लाञ्छना लगायो,’ उनले भने। गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन। ‘बाध्यताको देशमा हामी छौं,’ उनले सुनाए।  

प्रकाशित: ६ फाल्गुन २०८० १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App