३० चैत्र २०८० शुक्रबार
समाज

कृत्रिम हात खुट्टाले दिएको ‘प्राकृतिक’ खुसी

धादिङको थाँक्रे गाउँपालिका–१० का इन्द्रबहादुर तामाङको खुसीको सीमा थिएन। करिब पाँच वर्षसम्म बैसाखीको भरमा हिँडडुल गरेका तामाङ कृतिम खुट्टा लगाएर ठम ठम हिँड्न थालेपछि उनको उत्साह नै बेग्लै थियो। कृतिम खुट्टा लगाउँदा उनी घरपरिवार र छिमेकीलाई देखाउन उत्सुक थिए।

‘खै मेरो भिडियो खिँच्दिनु त। म हिँडेको फेसबुकमा राख्नुपर्‍यो’, भरतपुरमा कृतिम खुट्टा लगाएपछि अनुहार खुसी पार्दै तामाङले भने ‘कस्तो खुट्टा हाल्छ। यो मान्छे ठमठमती हिँड्ला र ? भन्ने जस्तो कुरा पनि गरेका थिए। उनीहरूलाई देखाउनु छ।’

४९ वर्षीय तामाङको विगतको अवस्था यस्तो थिएन। २०७६ साल असोज २६ गते ट्रिपर दुर्घटनामा परेर उनले देब्रे खुट्टा गमाएका हुन्। धार्केबजारबाट पसलको सामान लगेर घर जाने क्रममा बिच बाटोमै सवारी दुर्घटनामा परेका थिए। सँगै यात्रामा रहेका कान्छो भाइ, ठुली आमा र दिदी उनले सोही घट्नामा गुमाए। अचेत अवस्थामा रहेका उनले १८ दिनपछि खुट्टा गुमाएको बल्ल थाहा पाए।

‘खुट्टा काटेको मलाई थाहा छैन। पुरै झिलो झिलो भएको थियो रेरु १८ दिनपछि बेडबाट उठेर हिँड्न खोज्दा एक्कासि लड्न पुगेँ’, विगतको तितो अनुभव सुनाउँदै उनले भने ‘त्यतिखेर सपना जस्तो लाग्यो । रुन बाहेक केही आएन।’ सो दुर्घटनामा उनको दायाँ खुट्टा पनि भाँचिएको थियो।

एउटा करङ, र टाउकामा १२ वटा टाँका लगाएको उनले बताए। उनी १३ महिनासम्म हस्पिटलमा नै बसे। त्यतिखेर उनको साथी बैसाखी नै थियो। अहिले भने सामान्य मानिस झैँ हिँड्न सक्दा उनी उत्साहित छन्। ‘पहिला खुट्टा थियो। हिजो थिएन। आज भयो गजब्ब छ’, खुसी साट्दै उनले भने ‘बैसाखी टेक्दा चिप्लिएर लड्ने डर धेरै हुन्थ्यो।’

कृत्रिम खुट्टाको सहाराले दैनिकी सहज हुनेमा उनी आशावादी छन्। ‘दुई किलोमिटर हिँड्न सक्छु भन्ने भएको छ, उनले भने ‘पहिलाको जस्तो प्राकृतिक त के हुन्थ्यो र ? तर परिस्थिति अनुसार दैनिक जीवन चलाउन होला।’  

कालिकोटको पलाटा गाउँपालिका–९की मिना कुमारी बम १८ वर्षको उमेरमा पहिरोमा परेर गम्भीर घाइते भइन्। मान्माबाट चामल बोकेर फर्किँदै गर्दा भाततडीमा माथिबाट झरेको डुङ्गाले लागेर अचेत भएकी बमको काठमाण्डौँको टिचिङ हस्पिटलका चिकित्सकले उनको खुट्टा सग्लो राख्न सकेनन्। १८ वर्षकै उमेरमा खुट्टा गुमाउनुपर्‍यो। उनलाई पनि खुट्टा काटेको थाहा नै थिएन।

‘होसमा आएपछि खुट्टाको औँला चलिराखेको छ भनेर दाईलाई सोधेँ। दाइले केही नबोली उता फर्किनु भयो। पछि हेर्दा खुट्टा नै थिएन’, कालिकोटदेखि चितवन खुट्टा राख्न आएकी बमले भनिन्, ‘पछि खुट्टा नै नभएपछि बाँच्नुभन्दा मरेको भए हुने जस्तो भयो।’ १३ वर्षदेखि उनले कृत्रिम खुट्टाकै भरमा जीवन चलाइरहेका छिन्।

‘खुट्टा लगाउनुअघि बैसाखी टेकेर हिँड्नुपर्ने अवस्था थियो। कृत्रिम खुट्टा लगाएपछि धेरै सहज भएको छ। म त कृत्रिम खुट्टाबाट नयाँ जीवन पाएकोमा खुसी छु’–उनले भनिन् महोत्तरीका २३ वर्षीय विशाल थापाले दायाँ हात गुमाएका छन्। एक दशकअघि घरको सिँढीबाट लडेर हात गुमाएका थापाले पहिलो पटक कृतिम हात राखेका छन्। लगाएपछि पहिलेभन्दा सहज हुनेमा उनी विश्वस्त छन्।

‘सिँढीबाट लडेर हात भाँचिएको थियो। प्लास्टर गर्दा डाक्टरले टाइटले बाँधेछन्। ब्लड सर्कुलेसन नभएर सङ्क्रमण फैलिएर क्यान्सर भइसकेको रहेछ। पछि हात नै काट्नुपर्‍यो’, उनले भने चितवनमा रोटरी क्लब क्लब अफ नारायणी मिट टाउनले कृतिम हात खुट्टा निःशुल्क वितरण गरेको छ। यहाँ पूर्वदेखि पश्चिमसम्मका व्यक्ति हात खुट्टा लगाउन आएका छन्।

उनीहरूमा कोहीमा उत्साह र कोहीमा उमङ्ग देखिन्छ। माघ १७ गतेदेखि सञ्चालन भएको यस शिविरमा देशभरबाट सेवाग्राही आएका छन्। यो शिविर आधा महिना सञ्चालन हुनेछ। अहिलेसम्म ८० जनाभन्दा बढीले नाम टिपाइसकेको कार्यक्रम संयोजक अर्पणा प्रधान भण्डारीले जानकारी दिइन्।

उनका अनुसार दाताबाट रकम संकलन गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क हात खुट्टा वितरण गरिएको बताइन्। यसका लागि २५ लाख बराबरको रकम खर्च उनले बताइन्। हात खुट्टा बनाउनका लागि तीन जनाको प्रविधिको टोली चितवनमै छ।

उनीहरूले साइजअनुसार हात खुट्टा बनाएर दिइरहेका छन्। अहिलेसम्म ३० जनाभन्दा बढीले हात खुट्टा बनाएर गएको उनले जानकारी दिइन्। यहाँ देशभरका बिरामी आएको उनले जानकारी दिइन्। विशेष गरेर दुर्घटना, विभिन्न रोग र चोटका कारण हात खुट्टा गुमाएका व्यक्तिहरूको जीवनमा रूपान्तरण ल्याउने कोसिसका साथ शिविरको आयोजना गरिएको उनले जानकारी दिइन्। कृत्रिम अङ्ग बनाउने प्राविधिकहरूका अनुसार त्यो कति टिक्छ भन्ने कुरा प्रयोगकर्ताले कसरी प्रयोग गर्छन् भन्नेमा भर पर्छ।

भगवान् माहाविर विकलाङक सहायता समितिका सिनियर टेक्निसियन धिरज पटेलका अनुसार सामान्यतया कृतिम हात र खुट्टा एक दशकसम्म लगाउन सकिन्छ। कृतिम खुट्टा लगाएर मानिसहरू सहजै रूपमा हिँडडुल गर्न सक्ने र हातले मोटरसाइकल, साइकल समेत चलाउन मिल्ने उनले बताए। कृत्रिम अङ्ग बनाउँदा प्लास्टर अफ पेरिस लगायत विभिन्न वस्तुको प्रयोग गरिन्छ। उनका अनुसार, एउटा खुट्टा बनाउन ३० हजार रुपैयाँसम्म खर्च हुन्छ। नेपालमा करिब एक लाख मानिसलाई कृत्रिम खुट्टाको आवश्यकता रहेको सरकारी तथ्याङ्क छ।

प्रकाशित: १ फाल्गुन २०८० १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App