१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको हुँ: महरा

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। विहिबार मन्ध्यान्ह उनीसँग आयोगको कार्यालय सिंहदरबारमै बयान लिएको हो।

बयानका क्रममा महराले विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरूण पोखरेललाई फोन गरेको स्वीकार गरेका छन्। चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकार गर्दै सुन तस्करको रूपमा नभई फलफूल व्यापारीको रूपमा चिनजान भएकाले फोन गरेको बयान दिएको स्रोतले जानएको छ।

महराले आयोगमा दिएको बयान र सिआइबीमा दिएको बयान फरक परेको छैन। उनले सुन तस्करीबारे जानकारी नभएको पनि बताएका छन्।

भेपमार्फत भएको सुन तस्करी र विमनस्थलबाहिरबाट बरामद भएको सुन तस्करीको सम्बन्धमा छानबिन गर्न बनेको समितिले महरासँग बयान लिएको हो। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले सो समिति बनेको छ।

भेपमार्फत भएको नौ किलो सुन तस्करीमा प्रकरणमा महराका छोरा राहुल महरा यतिबेला पुर्पक्षका लागि थुनामा रहेका छन्। आयोगले राहुलसँग यसअघि नै आयोगले बयान लिइसकेको छ।

विहिबार पूर्व सभामुख महराका अतिरिक्त विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ। करिब ६१ किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि सोधपुछ गरेर छाडेको थियो। उनी करिब ६१ किलो सुन प्रकरणमा जोडिएका थिए।

भण्डारीको नाम विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत जोडिएको छ। तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पनि भएको कुराकानीका कारण उनी छानबिनको दायरामा थिए।

उनको गतिविधि संदीग्ध रहेको प्रहरी स्रोतको दावी छ। असोज १४ गते मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगलाई पहिलोपटक दिएको समय सकिएपछि दुई महिना थप गरिएको थियो। अबको एक महिनामा आयोगले रिपोर्ट बुझाउने छ। आयोगले सहसचिव झलकराम अधिकारी, केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेति ‘गोरे’, तथा सुन प्रकरणमा जोडिएका र विवादमा आएका सबैसँग बयान लिएको छ।

करिब ६१ किलो सुनमा अनुसन्धान गरेको सिआइबीका अधिकारीहरूसँग पनि समितिले जानकारी लिएको थियो। त्यसैगरी, सुन तस्करीका सम्बन्धमा समाचार सम्प्रेषण गर्ने केही सञ्चारकर्मीसँग पनि आयोगले जानकारी लिएको थियो।

प्रकाशित: २६ माघ २०८० ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App