१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले गर्‍यो प्रदर्शन

ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको छ। भुक्तानी नपाएको भन्दै एपेक्स कन्स्ट्रक्सन प्रालि प्रदर्शनमा उत्रेको हो। कम्पनीले बाँकी निर्माणको काम पनि अवरुद्ध गरेको छ। 
 
यो सँगै लामो समयसम्म बन्न नसकेर बल्लतल्ल निर्माणले गति लिएको १० किलोमिटर लामो बहानन्दे–दोभान सडक कालोपत्रेको काम रोकिएको छ। सडक कालोपत्रेका लागि एपेक्स कन्स्ट्रक्सन कम्पनी आर्थिक वर्ष २०७८/७९ मा ठेक्का पाएको थियो। कूल ३३ करोडमा ठेक्का पाएको कम्पनीले अहिले सम्म कूल कामको ६० प्रतिशत सम्पन्न भएको बताएको छ। 
 
कम्पनीका साइट इन्चार्ज अनिल चौधरीले आफूहरूले ७ करोड रुपैयाँको बिल बनाएर पेस गरे पनि भुक्तानी पाउन नसकेकोले बाध्य भएर भुक्तानीको माग सहित सडकमा आउनु परेको बताए। उनका अनुसार मजदुरलाई दिन र निर्माण सामग्री ल्याउन समेत बजेट अभाव भएपछि कम्पनी आफैँले निर्माण अवरुद्ध भएको घोषणा गर्नु परेको हो। सुरुमा कम्पनीले १५ करोड रुपैयाँ लिएको थियो। त्यसपछि कम्पनीले सरकारबाट थप रकम पाउन नसकेको बताएको छ। यो सडकको नियमक निकाय उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालय हो। 
 
कार्यालयका डिभिजन इन्जिनियर सुदर्शन कार्कीका अनुसार बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने योजनाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ मात्र थियो। चालू आवका लागि विनियोजित रकम सकिएको र थप रकम माग गरिएको डिई कार्कीले बताए। कार्की आफै पनि कम्पनीले अहिले सम्म लगेको रकम भन्दा बढी कामनै भइसकेको बताउँछन्। माग गरिएको रकम प्राप्त भएपछि निर्माण कम्पनीलाई थप रकम भुक्तानी दिने समेत उनले बताए। एक सङ्घीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रदेशसभामा दुई निर्वाचन क्षेत्र छन्। बहानन्दे–दोभान सडकले प्रदेशसभाको निर्वाचन क्षेत्र नं ‘क’ र ‘ख’लाई जोड्छ। 
 
तमोर नदी वारी र पारी गर्न यही सडकको प्रयोग गर्नुपर्छ । तमोर नदी पारी मेरिङदेन,आठराई त्रिवेणी,मैवाखोला र मिक्वाखोला गाउँपालिका पर्छन्। यी गाउँपालिकाका नागरिकले सदरमुकाम फुङलिङ आउन बहानन्दे–दोभान सडक प्रयोग गर्नुपर्छ। बर्खायाममा हिलाम्मे र हिउँद याममा धुलाम्मे यो सडक कालोपत्रे भएर त्यो समस्या हट्ने आसामा रहेका स्थानीले भने काम अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। भुक्तानी पाउन बाँकी रहेकै कारण काम रोकिएको भए तत्काल भुक्तानी दिएर अवरुद्ध निर्माण कार्य पुनःसुरु गर्ने वातावरण बनाउन दोभानका व्यवसायी प्रदीप पोखरेलले आग्रह गरेका छन्। 

प्रकाशित: २२ माघ २०८० १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App