७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान

तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला गरी भोगचलन गरेको आरोपमा बिहीबार पक्राउ गरिएका सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक अरूण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लग्दै केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी (तल)। चौधरीले भोगच

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।

तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी रूपमा स्वामित्व ग्रहण गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

करिब ३६ वर्षदेखि चौधरी ग्रुपले भोगचलन गरिरहेको १० रोपनी जग्गामा सिआइबीले केही महिनायता अनुसन्धान गर्दै आएको थियो। ‘पारिवारिक व्यापारिक घराना भएका कारण अनुसन्धान हुनु स्वाभाविक हो,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने।
बिहीबार दिउँसो सिआइबीले चौधरीसँगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको हो। प्रहरीका अनुसार चौधरी र थापाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको भोगचलनमा पुगेको निष्कर्ष निस्किएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका लागि आवश्यक देखिएपछि अध्यक्ष ठाकुरलाई पनि नियन्त्रणमा लिइएको सिआइबीको भनाइ छ।
वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छाला जुत्ता प्रकरण बाहिर आएको थियो। त्यही पुस्तकमा प्रकाशित विषयलाई लिएर अनलाइन सञ्चारमाध्यम ‘उकालो’ले समाचार सम्प्रेषण गरेको थियो।

२०७९ भदौ २५ गते सार्वजनिक भएको पुस्तकको ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा डा. कोइरालाले लेखेका छन्, ‘२०५८ सालमा म त्यहाँ (गंगालाल हृदय केन्द्र) जाँदा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका नाममा रहेको जग्गा छरपस्ट भइसकेको थियो।

मुख्य कम्पाउन्डभित्रको जग्गा गंगालालको भोगचलनमा आइसकेको थियो। दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ।’ पुस्तकमा समावेश गरिएको यही अंशका कारण यो प्रकरण बाहिर आएको हो।
यही प्रकरणमा सिआइबीले उद्योगपति चौधरी र कारखानाका तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरेर अनुसन्धान लागि अदालतबाट चार दिनको समय लिएको छ। सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीविरुद्ध ठगी शीर्षकमा अनुसन्धान हुनेछ। ‘उहाँहरूलाई ठगीमा अनुसन्धान हुनेछ।

सरकारी जग्गा भोगचलन तथा अपचलनको सम्बन्धमा पनि अनुसन्धान हुनेछ,’ एसपी अधिकारीले भने। बिहीबार पक्राउ परेका चौधरी देशकै ठुलामध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुपका (सिजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छा भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।

घटनाक्रमअनुसार २०४३ कात्तिक २७ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरका सेयर सदस्यहरू विनोदकुमार चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए।

सोही कम्पनीले १० रोपनी जग्गा आफ्नो नाममा पारेको थियो। अहिले अरूण चौधरी, उनकी पत्नी शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सञ्जय ठाकुर र केही सेयर विनोद चौधरीसमेतका नाममा रहेको सिआइबी स्रोतले जनाएको छ। तर यसबारे शुक्रबार मात्रै जानकारी दिने सिआइबीले जनाएको छ।
यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि नौ महिनादेखि अनुसन्धान गरिरहको छ तर टुंगोमा पु¥याउन सकेको थिएन। आवश्यक प्रमाण जुटाइरहेको अख्तियारका एक अधिकारीले दाबी गरे। यो विषयमा अख्तियारमा १० वर्षदेखि उजुरी परे पनि अनुसन्धान भने ९ महिनाअघिबाट सुरु भएको थियो।

ख्तियारले त्यससम्बन्धी केही फाइलका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो। अर्थले केही फाइलको जवाफ पनि पठाइसकेको थियो। अख्तियारले फाइल खोजेपछि केही प्रमाण लुकाइएको र मन्त्रालयमा भएका निर्णयहरू पठाइएको बताइएको छ।

राष्ट्रपतिका सल्लाहकारको चासो
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाले चासो राखेका छन्। अजित पक्राउ परेपछि सुनिल सिआइबी पुगेका थिए। उनीहरू एकै परिवारका सदस्य हुन्।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका काकाका छोरा अजितलाई बाँसबारी जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेकापछि सुनिल उनका बारेमा बुझ्न गएका हुन्। सुनिल सूर्यबहादुरका छोरा हुन्। तर सुनिलले अजितलाई भेट्न भने पाएनन्। अजित बाँसबारी छाला जुत्ता कारखानाको अध्यक्ष भएको बेलाको मुद्दालाई लिएर पक्राउ गरिए पनि त्यसपछिका घटनाक्रममा भने उनको कुनै भूमिका नरहेको परिवारको दाबी छ।

अजित कांग्रेस धनकुटाका महासमिति सदस्य पनि हुन्। चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर सेयर लिने निर्णय गर्दा उनी बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थिए।

धनकुटा मुगाका थापा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पनि भएका थिए। उनले २१ महिना आठ दिन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी एनआइडिसी (नेपाल इन्ड्रस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन) का महाप्रबन्धक भए। उनले त्यहाँ चारवर्षे महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए।

‘व्यवसायीलाई आतंकित पारियो’
व्यापारी अरूण चौधरीलाई कुनै जानकारी नदिई पक्राउ गरेर आतंकित पारेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआई) ले आपत्ति जनाएको छ। प्रहरीले कुनै सूचना नदिइएको र अनुसन्धानका लागि समेत नबोलाइएको जनाउँदै व्यवसायी मात्र नभएर सबै निजी क्षेत्र त्रसित हुने गरी धरपकड गरिएको भन्दै पत्रकार सम्मेलन गरेरै सिएनआईले आपत्ति जनाएको हो।
‘यो घटनाक्रमले सबै उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौं,’ सिएनआई अध्यक्ष राजेश अग्रवालले भने।
आजको घटनाले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपदेयताको उपेक्षा गरेको हो कि भनेर सोच्न बाध्य तुल्याएको समेत उनले बताएका छन्। उचित र पर्याप्त कारण भएको अवस्थामा बाहेक अभियुक्तलाई शंकाका भरमा वैयक्तिक स्वतन्त्रता हनन हुने गरी पक्राउ गर्नु न्यायसंगत नभएको समेत सिएनआईको धारणा छ। ‘कसुर प्रमाणित भए कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा विमति छैन तर कसुर प्रमाणित नै नभई धरपकड गर्नु न्यायसंगत होइन,’ अग्रवालले भने।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघले पनि सम्बन्धित विषयमा गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक गरेको आग्रहको बेवास्ता भएको जनाएको छ।

मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी–व्यवसायीमाथि धरपकड र पक्राउ गरिएको जनाउँदै महासंघले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको जनाएको छ। महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर मात्र आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: १९ माघ २०८० ०६:२७ शुक्रबार

गैरकानुनी चौधरी ग्रुप व्यापारिक घराना अर्बपति अरूण चौधरी व्यावसायिक गतिविधि अनुसन्धान बाँसबारी छाला जुत्ता कारखाना स्वामित्व