१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

कागजपत्र नभएका भनिएका रिक्सामाथि डोजर चलाउँदै नेपालगन्ज उपमहानगरपालिका। तस्बिर: नागरिक

कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर नेपालगन्ज उपमहानगरपालिकाले डोजर चलाएको छ। रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

गत मङ्सिर १९ गतेदेखि सुरु गरेको उक्त प्रक्रिया अनुसार उपमहानगरपालिकाले जाँच गरेर कागजपत्र नभएका ५ वटा रिक्सालाई मंगलबार डोजर चलाएर नष्ट गरेको हो। आवश्यक कागजात नभएका ती रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताएका छन्।

उपमहानगरपालिकाले भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको रिक्सालाई नष्ट गरेको गरेको थियो।

मेयर विष्टले उपमहानगरमा अवैध इलेक्ट्रिक रिक्सा गुड्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने अभियान अनुसार यस्तो काम गरिएको बताए। ‘हामीले पटक–पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौँ, अवैध रिक्सालाई चाही नष्ट गर्न सुरु गरेका हौ,’ उनले भने। नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई नभएको विष्ट बताउँछन्।

रिक्सा नियन्त्रणमा लिएपछि पनि १५ दिने सूचना जारी गरेर अद्यावधिक गर्न समय दिइएकोमा केही रिक्सा धनी सम्पर्कमा नआएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले हालसम्म ६ सय २३ वटा रिक्सा नियन्त्रण लिइसकेको छ। ती मध्ये आवश्यक कागजात र प्रक्रिया पुर्‍याएका ५ सय ३८ वटा रिक्सा फिर्ता भएका छन्। अझै ८५ वटा रिक्सा नियन्त्रणमा रहेको नगर प्रहरी प्रमुख सुर्य बोगटीले बताए।

उनका अनुसार यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजरले रिक्सा धनी÷चालककै अगाडी कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए।

नियन्त्रणमा लिइएका रिक्सामाथि डोजर चलाएको विषयमा नेपालगन्जको सामाजिक सञ्जाल बेस्सरी तातेको छ। यस विषयमा धेरैले फरक फरक प्रतिक्रिया आए पनि अधिकांशले उपमहानगरपालिकाले ‘अवैध’ नै भए पनि रिक्सामाथि डोजर चलाउनु राम्रो कार्य नभएको बताएका छन्।  

प्रकाशित: २५ पुस २०८० ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App