१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिरासत यात्रामा भगौडा ‘भगवान्’

धार्मिक गुरुको अस्वाभाविक प्रहरी हिरासत यात्रा हुने गरेको छ। बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जन हत्या र बलात्कार आरोपमा पक्राउ परेपछि अनुसन्धानको क्रममा हिरासत पुगेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको बुढानीलकण्ठ, हात्तीगौंडाबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी नवराज अधिकारीले बम्जन पक्राउ परेको बताएका छन्। बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। सिआइबीका डिएसपी धर्म भण्डारीको नेतृत्वमा बम्जनलाई पक्राउ गर्न प्रहरी टोली मंगलबार हात्तीगौंडा पुगेको थियो।

परिवारसँगै रहेका बम्जन प्रहरी टोली पुगेपछि दुई तलाबाट हाम फालेर भाग्न खोजेका थिए तर सफल नभएको प्रहरी टोलीले बताएको छ। उनी केही समयअघि काठमाडौं प्रवेश गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा सिआइबीले उनी बसेको घरलाई एक सातादेखि निगरानीमा राखी मंगलबार पक्राउ गर्न सफल भएको हो।

२०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउपुर्जी जारी भएको थियो। त्यसपछि लगत्तै उनी फरार भएका थिए। अनुसन्धान प्रक्रियाअनुसार पुर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको भए पनि फरार भएकाले बयान लिन सम्भव भएको थिएन। ‘अब बयान सुरु हुनेछ,’ एसपी अधिकारीले भने।

आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि सर्लाही जिल्ला अदालतको आदेशअनुसार २०७७ साल माघ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न गएको थियो। बारा जिल्लाको निजगढ नगरपालिका १२ ठेगाना रहेका बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका- ८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गर्दा पनि प्रहरी टोली फेला पार्न नसकी फर्किएको थियो।

बम्जनविरुद्ध यौनहिंसाको जाहेरी परेकाले खोजी भइरहेको प्रहरीले जनाएको थियो। ‘लामो समयदेखि फरार थिए, आज फेला परेका छन्,’ प्रवक्ता एसपी अधिकारीले भने। त्यतिबेला बम्जनको आश्रमबाट उनका मुख्य सहयोगी मानिने लोप्चन गुरुमार्ग गुरु भनेर चिनिने ज्ञानबहादुर बम्जनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

 २०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम तयार पारी बम्जन बस्नलाई त्यहीँ पुगेका थिए। तर सिन्धुलीमा तीन महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ असोजदेखि सिन्धुलीमै आश्रम बनाएर बसेका थिए।

विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फुलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुव्र्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले चार वर्षदेखि खोजी गरिरहेको थियो।

त्यतिबेला सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला पारेको थियो। शव गाडेर चाँडो कुहाउन नुन हालेको आशंका गरिए पनि हत्याको थप प्रमाण भने फेला परेको थिएन। उनीविरुद्ध बारा र मकवानपुरमा पनि मुद्दा छ।

प्रकाशित: २५ पुस २०८० ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App