३ वैशाख २०८१ सोमबार
समाज

कालिकोटमा जातीय विभेद गरेको आरोपमा एक पक्राउ

पचालझरना गाउँपालिका–२ का वडा अध्यक्ष ४१ वर्षीय करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन्। प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीलाई शनिबार पक्राउ गरेको हो।

स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल फोन मार्फत वडा अध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुष १२ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरबाटै उनलाई पक्राउ गरेको कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए।

उनका अनुसार कार्यालय सहयोगी बोगटीले फेसबुक स्ट्याटसको कमेन्टमा गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाकाे अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरेको हो।

पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाएँ ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी, मानव अधिकारकर्मीले चर्को विरोध जनाएका छन्। आरोपित बोगटीले आफूले जातीय भेदभाव गर्ने उद्देश्यले टेलिफो र सामाजिक सञ्जालमा नभनेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १५ पुस २०८० १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App