१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कसको कुटपिटले भयो मण्डलको मृत्यु ?

इलाका प्रहरी कार्यालय हंसपुर र प्रहरीको गोली लागि घाइते भएका शिवशंकर। तस्बिरः सुरेन्द्र यादव।

धनुषामा एकजनाको मृत्यु भएको विषयमा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको छ। जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।

हँसपुर नगरपालिका–५ सुगानिकास खरयानी टोलका मण्डलको प्रहरीको कुटपिटबाट मृत्यु भएको स्थानीयले आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय सुगानिकास घेराउ गर्दै तोडफोड र आगजनी गरेका छन्।

बिहीवार राति छिमेकमा झण्डा छुटाउन पुगेका दिपालाई चोरीको आरोप लगाउँदै स्थानीय शंकर ठाकुरले कुटपिट गरी प्रहरीमा बुझाएका थिए। पछि प्रहरीले पनि ईलाका प्रहरी कार्यालय सुगानिकासमा ल्याएर कुटपिट गरेका कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ।

शंकरले कुटपिट गरी दिपालाई प्रहरीको जिम्मा लगाएको र प्रहरीले पनि कुटपिट गर्दा उनको मृत्यु भन्दै बिहानैदेखि स्थानीयले प्रहरी कार्यालय घेराउ गरिरहेका छन्। स्थानीयले आक्रोशमा  प्रहरी कार्यालयमा ढुङ्गामुडा गर्दै २ टा मोटरसाइकलमा आगजनी गर्नुका प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। प्रहरीको गोली लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।  हाल उनको उपचार प्रादेशिक अस्पतालमा भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ।

स्थानीय अरुण मण्डलको घरबाट पाँच हजार रुपैयाँ चोरी भएको थियो। रुपैयाँ कसले चोरेको हो भन्ने विषयमा सोधिखोजी गर्दा स्थानीय शंकर ठाकुरको छोरासँग मिलेर मण्डलका छोराले चोरी गरेको पत्ता लागेको एक स्थानीयले बताए।

ती स्थानीयका अनुसार चोरीमा संलग्न रहेको भन्दै शंकरको छोरा र अरुणका छोरा मण्डललाई बाँधेर राखिएको थियो। दुबैजनालाई बाँधेको देखेर सम्झाउन बुझाउन दिपा पुगेका थिए।

शंकारका छोराले आफूलाई बन्धक बनाएर राखेको भन्दै आफ्नो बुवालाई जानकारी गराइदिन दिपालाई भनेका थिए। तर, शंकरले उल्टै दिपालाई कुटपिट गर्न थालेका थिए। शंकरले हानेको इटाले दिपाको टाउको फुटेको थियो। घटना थाहा पाएपछि घटनास्थलमा प्रहरी समेत पुगेको र दिपालाई प्रहरीमा ल्याएर थप कुटपिट गरेको स्थानीयको भनाइ छ।

तर, धनुषा प्रहरीले भने दिपाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ। झडपमा घाइते भएका दिपालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र बिहीवार नै उनको उपचारको क्रममा मृत्यु भएको धनुषा प्रंहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको पनि उनले बताए। साथै दिपालाई कुटपिट गर्ने शंकर ठाकुरलाई प्रहरी नियन्त्रणमा लिइएको पनि जानकारी दिए।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित: ६ पुस २०८० ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App