२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंको आरोप- बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प: पृथ्वीपथ’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो अभिव्यक्ति दिएका हुन्।

सम्बोधनका क्रममा उनले यी नयाँ राजनीतिक अनुहारहरूलाई अमेरिकन युथ काउन्सिल र बेलायती काउन्सिलले छानेर र प्रशिक्षण दिएर नेपाल पठाएको आरोप लगाए।

‘बोल्न जान्ने, राम्रा, हँसिला र सुकिला-मुकिलाहरूलाई अमेरिकन र ब्रिटिस काउन्सिलले छानेर प्रशिक्षण दियो,’ प्रसाईंले भने, ‘प्रशिक्षण दिएर पहिले बालेनमा टेस्ट गरियो। बालेन सफल भएपछि संसदीय निर्वाचनमा रवि लामिछानेलाई अघि बढाइयो।’

विवेकशील साझा पार्टीको जगमा टेकेर अहिलेको नयाँ राजनीतिक माहोल बनाइएको र यसको पछाडि विदेशी डिजाइन रहेको उनको जिकिर थियो।

प्रसाईंले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था सिध्याउन २००४ सालदेखि नै खेल सुरु भएको दाबी गरे। उनले २००७ साल, राजा महेन्द्रको निधन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध हुँदै २०७२ को संविधानसम्म आइपुग्दा देशलाई नियोजित रूपमा कमजोर बनाइएको उल्लेख गरे।

‘२०७२ को संविधानमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता हालिनु भनेको राजसंस्था र हिन्दू राष्ट्र अन्त्य गर्ने खेल थियो,’ उनले भने, ‘बिचमा राजा महेन्द्रले केही समय यसलाई रोक्ने काम गरेका थिए, तर अहिले त्यो मिसन पूरा गराइँदैछ।’

आफूले देशको पक्षमा बोल्दा धेरैले मार्छन् भनेर तर्साउने गरेको भन्दै प्रसाईंले आफू मृत्युसँग नडराउने बताए। ‘मृत्यु भनेको अमृत हो, त्यसलाई सहर्ष स्वीकार्न सकिन्छ तर देश सिध्याउने खेलको साक्षी बस्न सकिँदैन,’ उनले भने।

प्रसाईंले पुराना दल र तिनका नेताहरूको काम सकिएपछि विदेशी शक्तिले नयाँ पात्रहरूलाई ‘लन्च’ गरेको आरोप लगाउँदै देश जोगाउन अब अन्तिम लडाइँ लड्नुपर्ने बेला आएको सुनाए।

प्रकाशित: २० पुस २०८२ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App