२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

सोती घटनामा मारिएका गणेश बुढाकी आमा, लोकेन्द्र सुनारकी आमा, गोविन्द शाहीकी आमा र सञ्जु विककी आमा क्रमशः बायाँबाट दायाँतर्फ।

अन्तर जातीय प्रेम र विवाहको विषयलाई लिएर हत्या गरिएका जाजरकोटका नवराज विककी आमा उर्मिला विश्वकर्मा गत शनिवारदेखि जिल्ला अदालत रुकुम पश्चिमको गेटमा धर्नामा बसेकी थिइन्।

२०७७ जेठ १० गते छोराको हत्या भयो। कात्तिक १७ गतेको भूकम्पले घर भत्कायो। छोराको न्याय माग्दै जाजरकोटबाट रुकुम आएकी उर्मिलासहितका पीडित परिवारहरू भने अदालतको गेट नजिकै त्रिपाल टाँगेर निरन्तर खबरदारी गरिरहेको थियो।

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्। 

‘न्याय मरेको रहेनछ,’ उनले भनिन्, ‘छोरो मरे पनि न्याय अझैँ मरेको रहेनछ।’ पीडित परिवार र अधिकारकर्मी न्यायमा चलखेल हुनेमा आशङ्का गरिरहेका थिए। त्यसैले त उनीहरू निरन्तर त्रिपालमुनि बसेर धर्ना दिइरहेका थिए।  

अदालतको निर्णयले आफूहरू पूर्ण सन्तुष्ट भएको उनले बताइन्। ‘एक्लो छोरो गुमाउँदा पीडा अदालतको फैसलासँगै कम भएको छ,’ उनले भनिन्, ‘फैसलाप्रति हामी पूर्ण सन्तुष्ट छौँ, न्यायाधीश र अदालतलाई धेरै धेरै धन्यवाद।’

सोतीमा नवराजसँगै छ जनाको हत्या भएको थियो। हत्या गरिएका १९ वर्षीय गणेश बुढाकी आमा राधिकाले फैसला ढिलो हुँदा जुन पीडा थियो, त्यो फैसलासँगै खुसीमा बदलिएको बताइन्।  

‘ठुलै राजनीतिक चलखेल भइरहेको अनुभूति हामीले गरेका थियौँ, तर त्यसको छाया अदालतसम्म पुगेको रहेनछ,’ उनले भनिन्, ‘फैसला ढिलो हुँदा हामीले जुन आशङ्का गरेका थियौँ, त्यो मेटिएको छ।’ उनले अदालतको फैसलाले आफूहरू पूर्ण सन्तुष्ट रहेको बताइन्।  

‘मरेकाहरू आउने होइनन्, तर उनीहरूको आत्माको शान्तिका लागि यो फैसलाले महत्त्वपूर्ण काम गरेको छ,’ उनले भनिन्।

मृतक लोकेन्द्र सुनारकी आमाले भन्छिन्, ‘मुद्दा फितलो बनाउने ठुलो चलखेल भएको थियो। तर सबैको सहयोगले सत्यको जित हुने भयो, हाम्रा छोराहरूको आत्माले शान्ति पाएको छ।’ उनले आफ्नो गर्भमा रहेको छोरो सत्यको रहेछ भन्दै एउटा लाइभ कार्यक्रममा प्रतिक्रिया दिएकी छिन्।

गोविन्द शाहीकी आमाले अपराधीहरूलाई जेल सजायसम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। सञ्जु विककी आमा जसले नाति हुर्काउँदै छिन्। उनले भनिन, ‘मेरो छोराले वैकुण्ठमा बास गरोस्। मैले त्यही नाति हुर्काएर बसेकी छु।  

नवराज र गणेशसँगै २० वर्षीय टीकाराम नेपाली, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको पनि हत्या भएको थियो।

यस घटनामा न्याय दिलाउन लागेका अभियन्ता खगेन्द्र सुनारले गरेको भिडियो ‘लाइभ’कार्यक्रमममा मृतकका आमाहरूले सामूहिक रूपमा अदालतको फैसलाको खुलेर प्रशंसा र स्वागत गरेका हुन। यो फैसलापछि मात्र आमाहरूको अनुहारमा खुसी छाएको छ। नवराज विककी आमा भने अस्वस्थताका कारण कार्यक्रममा आउन नसकेको खगेन्द्र«ले लाइभमा जानकारी दिएका छन्।  

जिल्ला न्यायाधीश केसीको इजलासले पुर्पक्षमा रहेका २३ जना र तारेखमा रहेका एक जना गरी २४ जनालाई जन्मकैद सजाय सुनाएको थियो। नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा दुई वर्षको कैद तोकिएको छ।

साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई सफाइ दिइएको रुकुम जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

तत्कालीन वडाध्यक्ष डम्वरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगरलाई जन्मकैदको फैसला सुनाइएको छ ।  

यस्तै नवराजकी प्रेमिकासहित तीन जनालाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने दुई नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ। तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई अदालतले सफाइ दिएको छ।

प्रकाशित: २० मंसिर २०८० ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App