१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन सुरु

सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा सीमा स्तम्भ मर्मत सम्भार तथा रंगरोगन गर्दै। तस्बिर: नागरिक।

सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको सुरुवात गरेको छ।

सोमबार मेचीनगर नगरपालिका वडा नं. ७ धनकुटेबस्ती स्थित नेपाल– भारत दशगजामा रहेको सहायक सीमा स्तम्भ नं. ९१/१ पीपी ५५ बाट सीमा स्तम्भ मर्मत सम्भार कार्यको सुरुवात गरिएको हो। 

बेलैमा मर्मत सम्भार गर्न नसक्दा कोशी प्रदेश क्षेत्रका सीमा स्तम्भ जोखिममा परेको ठहर गरि सशस्त्र प्रहरीले मर्मत सम्भार र रंगरोगन थालेको सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनी मुख्यालयका डिआइजी अञ्जनीकुमार पोखरेलले बताए।

‘सीमा सुरक्षा बहुआयमिक विषय भएको र सीमा सुरक्षाको असली र वास्तविक पहरेदार सीमावासीहरु नै रहेको हुँदा उनीहरुको सहयोग लिएर सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्तम्भको मर्मत र रंगरोगन थालिएको हो,’ उनले भने।

सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको पाँचौं बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भएको थियो। जसमा वि. सं. २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सशस्त्र प्रहरी बल नेपाललाई सीमा स्तम्भ मर्मत गर्ने जिम्मा दिएको थियो।

सोही निर्णय अनुसार पहिलो पटक अन्तर्राष्ट्रिय सीमा स्तम्भहरुको निर्माण, मर्मतसम्भार र पुनर्स्थापनाको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरी कोशी प्रदेशको नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा रहेको ४८४ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी पकली सुनसरीका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

यस अघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार गरिसकेको छ।

सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाले जिल्लाभित्रका ३१७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १३३ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य गरिने जनाइएको छ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कर्णजित द्वारा जारी प्रेस नोट अनुसार ४८४ सीमा स्तम्भमध्ये १९९ वटा सीमा स्तम्भको रंगरोगन, २२१ वटा सीमा स्तम्भको सामान्य मर्मत, ५९ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत र पाँच वटा सीमा स्तम्भको पूर्ण मर्मत गरिनेछ।

प्रकाशित: १८ मंसिर २०८० ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App