२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

क्षणभरमै गाउँ खण्डहर

भूकम्पको मुख्य केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडाकी दुर्गा थापा दुई छोरीसहित ढुंगामाटाले बनेको दुई तले घरको माथिल्लो तलामा सुतिरहेकी थिइन् । शुक्रबार मध्यराति घर बेस्सरी हल्लायो । भूकम्प आएको थापा पाउनेबित्तिकै छोरीहरूलाई उठाउन खोजिन् । त्यतिन्जेल उनी र दुई छोरी घरको भित्ताले च्यापिएर पुरिइसकेका थिए । तल्लो तलामा १७ वर्षका छोरा सुरज थिए ।

‘भूकम्पले आमासँगै १३ र तीन वर्षका बहिनीहरू च्यापिएका थिए,’ सुरजले भने, ‘रातभरि एक्लै ढुंगा पन्छाएर उद्धार गरें ।’ नजिकै अरू घर थिएनन् । रातको समय भएकाले गाउँबाट चिच्याएको आवाज आउँथ्यो । शनिबार दिउँसो सबैलाई सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल पुर्‍यायो । ‘छोरा भुइँतलामा नसुतेको भए हामी बाँच्ने थिएनौं,’ दुर्गाले भनिन्, ‘बाँच्न लेखेको रहेछ, छोराले हामीलाई बचायो ।’

भेरी नगरपालिका–११ मटेलाकी लक्ष्मी सुनार पनि भूकम्प आउँदा मस्त निद्रामा थिइन् । भूकम्पले उनको घर ढल्यो । उनी ढलेको घरमा पुरिइन् । छोरा रामबहादुर भूकम्प आउनेबित्तिकै घरदेखि बारीमा दौडिए । ‘मैले बाँचेर आमालाई बचाउन पाएँ,’ उनले भने, ‘समयमै नभागेको भए घरभित्रै आमाछोराको चिहान भइसक्थ्यो ।’ रामबहादुरका अनुसार गाउँमा कुनै पनि घर ठाडा छैनन् । ‘एकैपटक गाउँका सबै घर ढले,’ उनले भने, ‘बिहान हेर्दा कुनै घर सग्ला थिएनन् ।’ नलगाड नगरपालिका–७ की २५ वर्षीया उपासना सिंह काठमाडौं जान सदरमुकाम खलंगास्थित फुपूको घरमा आएकी थिइन् ।

शनिबार काठमाडौं जान बसको टिकट काटेकी उनी शुक्रबार मध्यराति आएको भूकम्पमा परिन् । उनीस“गै नलगाडबाट खलंगा आएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भयो । ‘भूकम्प आएपछि बेहोसीमै घरबाट हाम फालें,’ उनले भनिन्, ‘सँगसँगै घर पनि गल्र्यामगुर्लुम ढल्यो ।’ आफूले घरबाट कसरी हाम फालेको र कुन तरिकाले बाँचेको भन्ने उनले अझै पत्तो पाएकी छैनन् ।

शुक्रबार मध्यराति बारेकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर शनिबार रातिसम्म १५७ जनाको मृत्यु भइसकेको छ । भूकम्पमा परेर जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ५२ जनाले ज्यान गुमाएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुषको मृत्यु भएको छ भने रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ । घाइतेको संख्या २०० भन्दा माथि छ । तीमध्ये गम्भीर घाइते २७ जनाको कर्णाली प्रदेश अस्पताल र २६ जनाको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । उनले फर्कंदा जाजरकोटबाट सात जना बिरामीलाई नेपालगन्ज पुर्‍याएका थिए । भूकम्पप्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री दाहालले घाइतेहरूको उद्धार, राहत र क्षतिपूर्तिका लागि सरकार गम्भीर रहेको बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार बिहानैदेखि सुर्खेत विमानस्थलबाट घाइतेहरूको उद्धार, सम्बन्धित जिल्लाहरूमा चिकित्सक र राहतका सामग्री पठाउन केन्द्रित भए । रक्षामन्त्री भएकाले नेपाली सेनाको स्काई ट्रकसहित पाँचवटा हेलिकोप्टर घाइतेहरूको उद्धार र राहत सामग्री पठाउन केन्द्रित गरिएको थियो । संघीय सरकारको कमान्ड सम्हालेर सुर्खेत विमानस्थलमा बसेका खड्काले घाइतेको उद्धार र राहतका लागि सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए ।

‘नेपाली सेनाको स्काई ट्रकसहित पाँच हेलिकोप्टरमार्फत दिनभर घाइतेलाई नेपालगन्ज र सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा पु¥यायौं, राहत सामग्री पनि सम्बन्धित जिल्लाहरूमा पठाएका छौं,’ उनले भने, ‘उद्धार र राहतको काम आइतबार पनि निरन्तर हुन्छ ।’ उपप्रधानमन्त्री खड्का घाइतेहरूलाई भेट्न शनिबार साँझ प्रदेश अस्पताल पुगेका थिए । उनले बिरामीको उपचारमा रातदिन नभनेर खटिन तथा आवश्यक उपचारहरू र खानाको व्यवस्था निःशुल्क गर्न निर्देशन दिए ।  

प्रकाशित: १९ कार्तिक २०८० ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App