९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा सम्पन्न गरेको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरेको हो।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगर परिक्रमा गरिएको थियो। तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ।

विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोसमेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ। जात्राका अवसरमा बालकुमारीमा भूईंफसी (कुभिण्डो) मार हानेर बलि दिइन्छ।

बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास छ। जात्राको अन्तिममा भूईफसी मार हान्ने भएकाले यसलाई भूईफसी पालेगु जात्रा पनि भनिन्छ। मध्यकालमा थिमि स्वशासित (भक्तपुर नियन्त्रित) राज्य थियो। यसको सिमाना पूर्वमा निकोसेरा, पश्चिममा पुरानो सिनामङ्गल (एअरपोर्टपारि), उत्तरमा मूलपानीवारि र दक्षिणमा ललितपुरको लुभु वारिसम्म फैलिएको विश्वास रहेको मध्यपुर थिमिमा सञ्चारकर्मी एवम् अध्येता केके मानन्धरले बताए।

तत्कालीन राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) भएको सन्दर्भ अहिले पनि नेपाल सरकारबाट लाय्कुमा नायः पःमाको नियुक्ति गरिँदै आएकाले पुष्टि हुने मानन्धरले बताए।

“थिमि लायकूका हाल नायः पःमां श्यामकाजी पःमां श्रेष्ठ हुन्। जसरी नायः पःमां कोअर्थ प्रधानहरूको अध्यक्ष अर्थात् साधारणतया उहिलेको दरबारिया प्रधानमन्त्री जस्तै हो,” मानन्धरले भने। थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आबद्धता थियो।

श्रेष्ठ थरमध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आबद्धता दरबारीया प्रशासकको रूपमा र कुटु/प्याथः समुदाय सैनिकको रूपमा दरबारमा थिए भने खड्गी समुदायले खाँसम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे। मल्लकालीन युद्धकलाको झझल्को दिने खाँ पिहाँवइगु जात्रा सामावेशी प्रकृतिको भएकाले उहिलेको राज्य पनि समृद्ध र समावेशी दृष्टिकोणले सञ्चालन भएको अनुमान लगाउन सकिने मानन्धरले बताए।

प्रकाशित: ९ कार्तिक २०८० ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App