क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कराँतेकी एरिका गुरुङलाई वर्ष २०८१ का उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका उत्कृष्ट खेलाडी घोषित भए। दुवैले पुरस्कार स्वरूप पल्सर बाइक प्राप्त गरे।
दीपेन्द्रले क्रिकेटका कुशल भुर्तेल, उसुका विजयी सिञ्जाली, टेबलटेन्सिसका स्यान्टु श्रेष्ठ र खोखोका जनक चन्दलाई पछि पार्दै पुरुष उत्कृष्ट खेलाडी बने। एरिकाले फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खोखोकी मानमति धामी र भलिबलकी सनिला श्रेष्ठलाई पछ्याउँदै महिला उत्कृष्ट खेलाडीको उपाधि जितिन्।
खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो। पिपल्स च्वाइस अवार्ड भलिबलकी हिमाल सुनारीले प्राप्त गरे भने उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे।
हिमालले फुटबलकी रेखा, उसुका विजय, क्रिकेटकी पुजा र टेबलटेन्सिसकी इभाना थापालाई पछि पार्दै अवार्ड जिते। पूजाले एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलकी समिर तामाङलाई पछ्याउँदै पुरस्कार हात पारे।
पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो भने एथलेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन्। नेगीले करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खोखोका लक्ष्मीनारायण वैद्यलाई पछि पारेर पुरस्कार जिते।
पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो।
प्रकाशित: २३ पुस २०८२ २१:०४ बुधबार





