२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मौन अवधिमा प्रचार गरेपछि रतनसँग प्रहरीको सोधपुछ, भिडियो हटाउन लगाएर छाडियो

निर्वाचनको मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार हुने गरी सामाजिक सञ्जालमा तस्बिर र भिडियो राखेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीसँग प्रहरीले सोधपुछ गरेको छ।

सामाजिक सञ्जालमा उनी पक्राउ परेको हल्ला चले पनि प्रहरीले सामान्य सोधपुछपछि उनलाई छाडेको प्रस्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार कार्कीले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

आचारसंहिता उल्लंघन हुने गरी सामग्री राखेको पाइएपछि प्रहरीले उनलाई कार्यालयमा उपस्थित गराएको थियो।

‘हामीले उहाँलाई नियन्त्रणमा लिएका वा पक्राउ गरेका होइनौँ, सम्झाई–बुझाई गर्न बोलाएका हौं,’ डीएसपी खनालले भने, ‘मौन अवधिमा भिडियो र तस्बिर पोस्ट गरेको देखिएपछि ती सामग्री हटाउन लगाएर छाडिएको छ।’

कार्की अहिले आफ्नै घरमा रहेको प्रहरीले जनाएको छ। जापान बस्दै आएका कार्की केही दिनअघि मात्र नेपाल फर्किएका हुन्।

उनले चुनावी माहोलको भिडियो बनाएर टिकटक, फेसबुक तथा युट्युबमा राख्दै आएका थिए।

प्रकाशित: २० फाल्गुन २०८२ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App