निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनका साथै ‘निर्वाचन आचारसंहिता, २०८२’ समेत पूर्ण रूपमा पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय दायित्व निर्वाह गर्दा पूर्ण रूपमा तटस्थ र निष्पक्ष रहनुपर्ने आयोगले प्रस्ट पारेको छ।
निर्वाचन अवधिभर कर्मचारीलाई विदेश भ्रमणमा समेत कडाइ गरिएको छ। मुलुकको प्रतिनिधित्व हुने गरी जानुपर्ने अवस्थाबाहेक नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेका व्यक्तिले आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमण गर्न वा पठाउन नपाउने व्यवस्था आचारसंहितामा छ।
यसैगरी, सरकारी स्रोतसाधनको दुरुपयोग गर्न नपाइने आयोगले बताएको छ। उम्मेदवार, राजनीतिक दल वा तिनका भ्रातृ संगठनलाई सरकारी, प्रदेश तथा स्थानीय तह वा सार्वजनिक संस्थानका भवन, अतिथि गृह, सभागृह, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने व्यवस्था कडाइका साथ लागू गरिएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १७:०१ मंगलबार



-600x400.jpg)

