बिहीबार (भोलि) बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु हुँदैछ। अपराह्न ५ बजेसम्म मतदाताले राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा अन्य ६ प्रकारका परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
तर कतिपय अवस्थामा झुक्याएर वा अन्य उपाय अपनाएर अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि देखिने गरेको छ। यदि कुनै मतदाता मतदान केन्द्रमा पुग्दा आफ्नो नाममा अर्कैले पहिले नै मत खसालेको थाहा पाए भने के हुन्छ?
निर्वाचन आयोगले यस्ता विषम परिस्थितिको पूर्वानुमान गर्दै प्रत्येक निर्वाचनमा स्पष्ट वैकल्पिक व्यवस्था गर्दै आएको छ।
फर्जी मत रद्द हुँदैन, तर वास्तविक मतदाता वञ्चित हुँदैन
सुरुमा फर्जी मतदाताले खसालेको मत मतपेटिकामा पुगिसकेपछि त्यसलाई छुट्याएर रद्द गर्न सम्भव हुँदैन। त्यसैले त्यस्तो मत तत्काल रद्द गरिँदैन।
तर यसले वास्तविक मतदाता मतदानबाट वञ्चित हुँदैन। आफ्नो नाममा अर्कैले मत खसालेको पुष्टि भएमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन्। यस्तो अवस्थामा उसलाई ‘निविदा मतपत्र’ उपलब्ध गराइन्छ।
‘निविदा मतपत्र’ के हो?
‘निविदा मतपत्र’ भनेको विशेष परिस्थितिमा प्रयोग हुने मतपत्र हो। यो मतपत्र सामान्य मतजस्तै मतपेटिकामा खसालिँदैन, बरु छुट्टै खाममा राखिन्छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निविदा मतपत्र निश्चित अवस्थामा मात्रै गणना हुन्छ। उम्मेदवारहरूबीच मत बराबर भएमा वा अदालतको आदेश आएमा मात्र यस्तो मतपत्र खोलिन्छ। अन्य अवस्थामा यसको गणना गरिँदैन।
प्रक्रिया कसरी अघि बढ्छ?
यदि मतदाता मतदान केन्द्रमा पुग्दा आफ्नो नाममा अर्कैले मत खसालेको पाइयो भने उसले आफू नै वास्तविक मतदाता भएको दाबी मतदान अधिकृतसमक्ष गर्न सक्छ।
त्यसपछि मतदान अधिकृतले कागजात र विवरणका आधारमा यकिन गर्छ कि व्यक्ति वास्तविक मतदाता हो कि होइन। वास्तविक मतदाता भएकोमा विश्वस्त भएमा त्यसको अभिलेख राखी निर्णय गरिन्छ र उसलाई निविदा मतपत्र दिइन्छ।
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ। मतपत्रमा पनि स्पष्ट रूपमा ‘निविदा मतपत्र’ उल्लेख गरिन्छ। मतदानपछि उक्त मतपत्र मतपेटिकामा नराखी छुट्टै खाममा सुरक्षित राखेर निर्वाचन अधिकृतलाई बुझाइन्छ।
यसरी, फर्जी मतदानको प्रयास भए पनि वास्तविक मतदाता आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०८२ १७:२८ बुधबार





