प्रतिनिधिसभा सदस्य टिका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघ भ्रमणका क्रममा कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै प्रतिपक्षी दलका नेताहरूले खिसीट्युरी गरेको बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै संग्रौलाले लामो समय सत्ता सञ्चालन गरेका दलका नेताहरूले अहिले प्रधानमन्त्री शाहको कूटनीतिक मर्यादामाथि प्रश्न उठाउनु आश्चर्यजनक भएको बताइन्।
उनले भनिन्, ‘मिडियामा सुनिन्छ, विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीज्यूको कूटनीतिक स्वागत र तामझाम भएन भनेर खिसीट्युरी गर्दै हुनुहुँदो रहेछ।’
संग्रौलाले चार दशकसम्म निरन्तर सत्ता सम्हालेका नेताहरूले देशको अन्तर्राष्ट्रिय छवि कमजोर बनाएको दाबी गर्दै अहिले आएर कूटनीतिक मर्यादाको चिन्ता गर्नु विरोधाभासपूर्ण भएको बताइन्।
‘चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छविलाई नै शून्यमा पुर्याउनेहरूले आज भर्खरै प्रधानमन्त्रीको पद सम्हालेका बालेन्द्र शाहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु चाहिँ अचम्मको विषय बनेको छ,’ उनले भनिन्।
प्रधानमन्त्री शाहको भ्रमणलाई चीनका राष्ट्रपति सी चिनफिङसँग तुलना गरिएको विषयमा पनि उनले प्रश्न उठाइन्। सी चिनफिङभन्दा अघिका नेतृत्वले चीनलाई कस्तो अवस्थामा पुर्याएका थिए र बालेन्द्र शाहभन्दा अघिका नेतृत्वले नेपाललाई कस्तो अवस्थामा पुर्याए भन्ने विषयमा पनि मनन गर्नुपर्ने उनले बताइन्।
‘अर्को कुरा सी चिनफिङसँग तुलना गर्नु भएछ। सी चिनफिङका भन्दा अगाडिका नेताले देशलाई कस्तो बनाएका थिए ? बालेनभन्दा अगाडिका नेताले देशलाई कस्तो बनाए, यो मनन गर्ने कि नगर्ने ?’ संग्रौलाले प्रश्न गरिन्।
प्रकाशित: १३ आश्विन २०८३ १०:४६ मंगलबार



-600x400.jpg)

