२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को निरीक्षण गरेका छन्। 

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पालिकास्तरसम्म जनशक्ति कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सूचना प्रणाली प्रभावकारी हुने जानकारी दिए। 

उनले सो प्रणालीले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने दाबीसमेत गरे। प्रहरी जनशक्ति, निर्वाचन प्रहरी जनशक्ति, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिने उनको भनाइ छ।

'मतदान स्थल र मतपेटिकाको अवस्थाको स्थलगत र संख्यात्मक अवस्थाबारे जानकारी लिइनेछ। निर्वाचनको हरेक गतिविधिको मनिटरिङ गर्नका लागि इलेक्सन म्यानेज्मेन्ट सिस्टम सफ्टवेरको विकास गरिएको हो।', महानिरीक्षक कार्कीको भनाइ छ।  

उनका अनुसार मतदान स्थलमा मतपेटिका पुगे नपुगे, मतदान प्रकृया सुरु भए नभएको तथा मतदान रोकिएकोलगायत मत गणनाको अवस्थादेखि बिजयी उम्मेदवारसम्मको विवरण प्राप्त हुनेछ। अनुगमनमा केन्द्रीय सुरक्षा समितिका सबैलगायत मन्त्रालय र सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

उक्त केन्द्रमा ४१ वटा रियल टाइम भिडियो क्यामेरा जडान गरिएको छ। जसबाट ४१ वटा मतदान केन्द्रमा प्रत्यक्ष अनुगमत गरिन्छ।

सो अवसरमा गृहमन्त्री अर्यालले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताए। उनले यो प्रणालीले निर्वाचनलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। गृहमन्त्री अर्यालले प्रविधिमा अपडेट हुन सबैलाई आग्रह गर्दै आगामी दिनमा सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।  

उक्त सूचना प्रणाली मार्फत निर्वाचन सम्बन्धी नियमित गतिविधि, जनशक्ति परिचालनको जानकारी लिन सकिन्छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा उपयोगी यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रुपमा मनिटरिङ गर्न सकिन्छ। 

प्रकाशित: २० फाल्गुन २०८२ १७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App