नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमण र दुर्व्यवहार घोर निन्दनीय भएको बताएका छन्।
उनले एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल रहेको अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक रहेको बताए।
अस्पतालभित्रै पसेर आक्रमण भएको घटनाको तत्काल सम्पूर्ण छानबिन गरी कानुनबमोजिम कारबाही गर्न उनले माग गरे।
यस्तै, उनले नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाउन आग्रह गरे। साथै, सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न उनले आग्रह समेत गरे।
'एकातिर दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउनै मुस्किल छ, अर्कोतिर ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक छ,' उनले सामाजिक सञ्जालमार्फत भने, 'नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाओस्। सम्पूर्ण स्वास्थ्यकर्मीलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरियोस्।'
प्रकाशित: २३ श्रावण २०८३ ११:४७ शनिबार





