७ आश्विन २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : ‘नामोनिसान मेटाउने’ चेतावनीपछि इरानी अधिकारीसँग तीन घण्टा भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी र इरानी अधिकारीबिच करिब तीन घण्टा भेटवार्ता भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै आफूले इरानसँग चाँडै सम्झौता नभए ‘नामोनिसान मेटाउने’ चेतावनी दिएको केही समयपछि यो भेट भएको उनले बताए। ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरले विश्व नेताहरूको वार्षिक भेलाको छेउमा इरानी अधिकारीसँग भेट गरेका थिए।

भेटमा के विषयमा विस्तृत कुराकानी भयो भन्नेबारे ट्रम्पले खुलाएका छैनन्। तर भेट ‘एकदमै राम्रो’ भएको उनको भनाइ छ। ट्रम्पले इरानी अधिकारीहरू उच्च तहका नभए पनि भेटलाई सकारात्मक रूपमा लिएको बताए। उनले निकट भविष्यमै फेरि भेट हुने संकेत पनि गरेका छन्।

अमेरिका-इरानबिचको वार्तामा इरानको आणविक कार्यक्रम, युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र होर्मुजको जलमार्ग पुनः खोल्ने विषय मुख्य चासोमा रहेको देखिन्छ।

ट्रम्पले महासभामा इरानसँग सम्झौता गरेर पुनर्निर्माणको बाटो रोज्ने वा कडा कदम चाल्ने विषयमा आफूले ठुलो निर्णय गर्नुपर्ने बताएका थिए। उनले इरानलाई होर्मुजको जलमार्ग पुनः खोल्न र वार्ताको टेबलमा फर्कन पनि आग्रह गरे।

जुनमा भएको छोटो समयको युद्धविराम भंग भएपछि अमेरिका र इरानबिच लामो समयदेखि संवाद रोकिएको थियो। जुलाईको सुरुतिर अमेरिकी र इरानी वार्ताकारले कतार र पाकिस्तानका मध्यस्थकर्तासँग छुट्टाछुट्टै भेटेर अप्रत्यक्ष वार्ता गरेका थिए। एजेन्सी

प्रकाशित: ७ आश्विन २०८३ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App