७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : अमेरिकाले थप तीन करोड १० लाख डलर सहयोग गर्ने, कहाँ-कहाँ खर्च हुनेछ ?

फाइल तस्बिर : भोटेकोशी बाढी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाले नेपालमा बाढीपछिको पुनर्स्थापना कार्यका लागि थप तीन करोड १० लाख डलर (३१ मिलियन डलर) सहयोग गर्ने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोग गर्ने योजना घोषणा गरेको हो।

भेटमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपछिका राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर सहयोगका विषयमा पनि कुराकानी भएको थियो।

भेटबारे जानकारी दिँदै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले पक्की पुल निर्माणका लागि एक करोड डलर सहयोग गर्ने योजना बनाएको जनाएको छ। अमेरिकी कम्पनीबाट निर्माण सामग्री खरिद गरिने ती पुलले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना र क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग पुग्ने दूतावासले जनाएको छ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, संरक्षण, जीविकोपार्जन र जाडोयामका लागि आवश्यक सहयोगमा थप ८० लाख डलर उपलब्ध गराउने योजना रहेको दूतावासले जनाएको छ।

भविष्यमा विपद्पछिको पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकी प्रविधिबाट निर्मित ड्रोनका लागि एक करोड ३० लाख डलर खर्च गर्ने योजना पनि रहेको दूतावासले जनाएको छ।

नयाँ सहयोग घोषणासँगै नेपालमा बाढीको उद्धार तथा पुनर्स्थापनाका लागि अमेरिकाले गर्ने कुल सहयोग तीन करोड ६० लाख डलरभन्दा बढी पुगेको दूतावासले जनाएको छ। आवश्यकताअनुसार थप सहयोग पहिचान गरी नेपाल सरकारसँग सहकार्य गर्ने पनि अमेरिकाले जनाएको छ।

May be an image of text
May be an image of text

प्रकाशित: ७ आश्विन २०८३ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App