२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले अनुदानको पैसा नदिँदा उखु किसानको दसैँ खल्लो

सरकारले अनुदानको रकम उपलब्ध नगराउँदा उखु किसानको दसैँ खल्लो हुने भएको छ।

रौतहट र सर्लाहीका किसानले चिनी मिललाई बिक्री गरेको उखुबापत नेपाल सरकारले दिनुपर्ने अनुदान नदिँदा किसानहरूको दसैँ खल्लो हुने भएको हो।

सरकारले किसानलाई प्रति क्विन्टल ७० रुपैयाँको दरले अनुदान दिनुपर्नेमा उखु क्रसिङको अर्को सिजन सुरु हुन लाग्दा पनि भुक्तानी दिन सकेको छैन।

रौतहट र सर्लाहीमा रहेका चिनी उद्योगहरुले किसानलाई उखुबापत दिनुपर्ने भुक्तानी दिइसकेको तर सरकारले दिनुपर्ने रकम किसानलाई उपलब्ध नगराउँदा किसानहरू मर्कामा परेका छन्। रौतहट र सर्लाहीमा गरी करिब आधा दर्जन चिनी उद्योगहरु सञ्चालनमा रहेका छन्। अधिकांश चिनी उद्योगले किसानलाई भुक्तानी दिइसकेको किसानहरूले बताएका छन्।

रौतहटको गढीमाई नगरपालिका २ का अगुवा उखु किसान रवीन्द्र सहनीले आफूले गत वर्ष सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगलाई दिएको उखुको भुक्तानी गत असारभन्दा पहिले नै पाइसकेको तर सरकारले अनुदानबापत दिनुपर्ने रकम उपलब्ध नगराएको बताए। सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा दसैँ मान्न निकै अप्ठ्यारो भएको सहनी बताउँछन्।

यसै गरी सर्लाहीको मानपुरका रामबहादुर यादवले पनि अनुदानको रकम नपाउँदा निकै समस्या भएको बताए। सरकारले दिनुपर्ने रकम उपलब्ध नगराउँदा बालबालिकाको विद्यालयमा पढाउन तिर्नुपर्ने शुल्क तिर्नुका साथै घर व्यवहार चलाउन कठिन भएको यादव बताउँछन्। दसैँमा पनि निकै खर्च लाग्ने भएको र लगत्तै छठ आउन लागेकोले चाडपर्वको नाम सुन्नासाथ तर्सिनुपर्ने अवस्था आएको यादवको भनाइ छ।

सहनीजस्तै रौतहट र सर्लाहीका हजारौँ किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा किसानहरू मर्कामा परेका छन्। हरिवनस्थित इन्दुशंकर चिनी उद्योगलाई गत वर्ष किसानले २८ लाख २० हजार ५७० क्विन्टल उखु उपलब्ध गराएकोमा उद्योगले १ अर्ब  ५० करोड ८९ लाख  ८४ हजार ७४३ रुपैयाँ भुक्तान गरिसकेको उखु महाप्रबन्धक योगनारायण रजकले बताएका छन्। इन्दुशंकर चिनी उद्योगलाई उखु उपलब्ध गराएबापत सरकारले दिनुपर्ने अनुदान रकम करिब २० करोड रुपैयाँ रहेको देखिएको छ।

सर्लाहीमा इन्दुशंकर चिनी उद्योग हरिऔन, अन्नपूर्ण सुगर मिल धनकौल, महालक्ष्मी सुगर मिल बगदह, सिद्धिविनायक सुगर मिल ईश्वर र रौतहटमा बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि कटहरियता रहेका छन्। अधिकांश चिनी मिलहरूले किसानको रकम करिब भुक्तानी गरिसकेका छन् तर सरकारले अनुदान बापतको रकम उपलब्ध नगराउँदा किसानलाई चाडपर्व मान्न समस्या भएको हो।

रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर मिलका संचालक बैजु प्रसाद बाबराले गत आर्थिक वर्षमा पौने सात लाख क्विन्टल उखु खरिद गरेकोमा सबै रकम भुक्तान गरी करिब पौने दुई करोड र अनुदानको करिब पौने पाँच करोड गरी किसानले पाउनुपर्ने रकम करिब साढे छ करोड रहेको जनाएका छन्। उद्योगले दसैँ तिहारकै बिचमा किसानलाई बाँकी रकम उपलब्ध गराउने संचालक बाबराको भनाइ छ।

उखु उत्पादक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले रौतहट र सर्लाहीका उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदानको रकम करिब पचास करोड रुपैयाँ रहेको बताएका छन्। उखु किसानको चाडपर्वसमेत सरकारले नबुझेकोले चारैतिरबाट किसान मर्कामा परेको दुखेसो अध्यक्ष मैनालीको रहेको छ। 

प्रकाशित: २८ आश्विन २०८० १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App