२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरा–मुग्लिन राजमार्ग: बिस्तारको ढिलाइले स्वास्थ्यमा असर पर्न थालेको गुनासो

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिङ अन्तर्गत पोखरादेखि तनहुँको आँबुखैरेनीसम्म (८२ किम) सडक खण्डको विस्तारको काम सुरु भएको दुई वर्ष बितिसक्यो। 

सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा बिस्तारको काम धिमे गतिमा छ। धिमे गतिमा गरिएको कामले आवतजावतमा कठिनाइ त भएको छ नै सर्वसाधारणले राजमार्गको मात्र नभई अरुखाले सास्ती पनि खेप्नुपरेको छ।

पोखराभित्रकै लेखनाथ क्षेत्रमा सडक बिस्तारको काम थाँती नै छ। पोखराकै लाईफलाईनको रुपमा रहेको विजयपुर पुलको काम सुरुवात नै भएको छैन। लेखनाथ क्षेत्रमा पोल गाड्ने र रुख काट्ने काम मात्रै भएको छ। ‘सडक निर्माण नहुँदा जनतालाई अप्ठ्यारो परेको छ। भएको सडक मर्मत भएको छैन। आवतजावत बढेको छ। 

पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उठ्ने जस्ता समस्या स्थानीयवासीले खेप्नुपरेको छ,’ लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले भने, ‘पोखराको लाइफ लाइन विजयपुर पुल कहिले बन्ने?’ ‘पुलमाथि रहेको बेली ब्रिजले अहिलेको सवारी साधनको चापलाई धान्न सकिरहेको छैन। एकतर्फी रुपले संचालन हुने पुलकै कारण सवारी साधनहरु घण्टौंसम्म रोकिनुपर्ने हाम्रो नियति बनेको छ,’ उनको भनाई थियो।

उनले पुल पोखराकै लाइफलाइन भएकोले पनि छिटो निर्माण गर्नुपर्ने सम्बन्धित निकायले ध्यानदिनुपर्नेमा जोड दिए। ‘कुनै कारणले आवतजावत बन्द भयो भने पोखरा ‘प्यारालाईज्ड’ हुन्छ,’ उनले भने, ‘सडक नबन्दा पोखरेली जनताले मात्रै नभई पर्यटकले पनि मिठासको सन्देश बोकेर जाँदैनन्।’

दैनिक हजारौं सवारी साधन आवतजावत हुने तथा पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलको विकल्प खोज्न सरोकारवाला निकायहरुसँग अनुरोध गरिएको भएपनि समस्या ज्यूँ का त्यूँ रहेको उद्योगी व्यवसायीले गुनासो गरेका छन्।

पृथ्वी राजमार्ग स्तरोन्नतिमा भएको ढिलाइप्रति लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले स्तरोन्नतिमा भएको ढिलाइले लेखनाथबासीको स्वास्थ्यमा गम्भीर असर परेको ठहर गर्दै सम्बन्धित निकायले छिटो निर्माण कार्य थालेर टुंग्याउनुपर्नेमा जोड दिएका छन्। राजमार्गमा स्तरोन्नतिको काम चलिरहँदा काठमाडौं–पोखराको यात्रा कष्टकर,लामो र खर्चिलो बनेको छ।

लेखनाथ क्षेत्रमा अझै सडक निर्माणका काम सुरु भईसकेको छैन। ‘एकपटक आयो पोल गाड्यो। अर्को पटक आयो रुख काट्यो’ वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराईले भने, ‘त्यस्तो गतिले अझै चार पाँच वर्ष नै लेखनाथबासी पीडित बन्ने देखेका छौं।’ 

उनले बाटो नबनेर व्यवसाय नै धरापमा परेको गुनासो गरे। स्वास्थ्यप्रतिको असर उस्तै छ। धुलोले स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको भन्दै छिटो काम गरेर टुंग्याउनु सरोकार निकायले ध्यान दिनुपर्ने उनको भनाई थियो। ‘अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो। तर, एयरपोर्ट पुग्ने सडकको दुरावस्था छ,’ उनले भने।

संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य सहित पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बलराम ढकाल र निवर्तमान अध्यक्ष छत्रधर आत्रेयद्वारा विज्ञप्ति नै जारी गरेर पृथ्वी राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइले लेखनाथबासीहरु आक्रान्त बनेको जनाउँदै धुलो र धुवाँका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर पुगेको, सडककै कारण ढुवानीको लागत बढ्दा यसले मूल्यवृद्धिमा पनि असर पुर्‍याएको उल्लेख गरेका छन्। 

प्रकाशित: २७ आश्विन २०८० ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App