११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमाली जिल्लामा कहिले बाढी त कहिले पहिरो

भविश्यमा यस्ता घटना अझै छिटोछिटो हुनसक्छनः भूगर्वविद्

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आइतबार बेलुकी बाढीले पुर्याएको क्षति। तस्बिरः नागरिक

–२०७१ असोजमा मुस्ताङ र मनाङको सिमा क्षेत्रमा भीषण हिमपात भयो। हुदहुद नामक आँधीमा परेर त्यो बेला कम्तिमा ४० जनाले ज्यान गुमाए।  

–२०७८ असार पहिलो साता हिमाली जिल्ला मनाङमा बाढी आयो। बाढीले धेरैलाई उठिबास लगायो। भीषण बाढीपहिरोले मर्स्याङदी नदी किनारका धेरै बासिन्दालाई सकस दिलायो। मनाङ पुग्ने एकमात्र मोटरबाटो महिनौ ठप्प भयो। अझै पनि सडक सहज भईसकेको छैन।

–२०७८ कात्तिक २८ गते हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा हिमपहिरो झर्यो। धौलागिरी हिमश्रृंखला अन्तर्गतको टुकुचे पिक (६९२० मिटर) बाट हिमपहिरो झरेको थियो । हिमपहिरोमा परेर केही घाइते भए । हिमपहिरोले लामो समयसम्म त्रास थप्यो।  

–२०७८ फागुन २१ मा मुस्ताङको थासाङ गाउँपालिका–२ मा पुनःहिमपहिरो आयो। टुकुचे पिक (६९२० मिटर)बाट हिमपहिरो आउँदा मानवीय क्षति भने भएन, तर, स्थानीयका चौरी मरेका थिए।  

हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा घटेका प्राकृतिक प्रकोपका यी केही उदाहरण हुन्। हिमाली जिल्ला मनाङ र मुस्ताङले प्राकृतिक प्रकोपको मार निरन्तर खेपिरहेका छन्। यसैक्रममा गत आइतबार (२०८० साउन २८) मा हिमाली जिल्ला मुस्ताङले पुनः अर्काे विपद् सामना गर्नुपर्यो। खहरे खेलामा आएको बाढीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी बजार केहीछिनमै तहसनहस बनायो। बाढीले बस्ती बगाउँदा धेरैको उठिबास लाग्यो। मानवीय क्षति हुनबाट रोकिएपनि स्थानीयको घर, बसोबास, होटल, प्रहरी चौकी, वित्तीय संस्था बाढीको लेदोसँगै बगेका छन्।  

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मुस्ताङमा खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर धेरैले सोचेका थिएनन्। वर्षाैदेखि खोला किनारमा बस्दै आएपनि बाढीले बगाउँला भन्नेमा स्थानीयलाई पत्यारै थिएन। तर, आइतबार बेलुकी गडगडाउँदै आएको खहरले हेर्दाहेर्दै बस्तीलाई बगर बनायो।  

‘नपत्याउने खोलाले योपटक सिगों बस्ती नै बगाएको छ। संयोगबस मानवीय क्षति नभएपनि ठुलो आकारको भौतिक नोक्सानी पुर्‍याएको छ,’ वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङ भन्छन, ‘यो खहरेले बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन। तर, भईदियो त्यस्तै, हेर्दाहेर्दै खोला बस्तीमा पस्यो, बस्ती बगर बन्यो। घरको माथिल्लो तलासम्म लेदो पुग्यो।’  

उनका अनुसार मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा वितण्डा मच्चाएको हो। ‘भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। निकै नै कम वर्षा हुने भएपनि मुस्ताङमा पछिल्लो समय बाढीले तहसनहस बनायो,’ उनले भने। उनका अनुसार सुरुमा सामान्य बढेको खोलाले यो आकारको क्षति गर्ला भनेर कसैले अनुमान गरेका थिएनन। बेलुकी ५ बजेतिर खोला केही धमिलो र बढेको पनि देखेका हुन। तर, एकाएक बेलुकी सातबजेतिर बस्ती नै सखाप पार्नेगरि बाढी आएको उनले बताए। ‘खहरे खोला हो, त्यसैलै नराम्रो सोच्नुपर्ने पनि थिएन । तर, यो पटक बढी क्षति पुर्यायो,’ उनले भने।

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार अनुसार झोङखोलाको मुहान कागबेनीबाट करिब ८ किलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छ। खोला किनारमा बस्ती नभएकोले पनि वहाव बढेको वा लेदो बगेको भन्ने हत्तपत्ति थाहा नपाएको उनले बताए। ‘अघिल्ला वर्ष पनि यो खोलामा बेलाबेला बाढी आउँथ्यो। तर, योपटक भने अधिक नै आयो,’ उनले भने। उनका अनुसार कागबेनीमा रहेका घरहरु खोलाको निकै नै नजिक थिए। त्यसले गर्दा पनि बाढी पस्न सक्यो।’  

प्रवक्ता गुरुङका अनुसार खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि अहिले बाढी आएको उनले बताए। ‘खोला किनारमा भएपनि व्यक्तिगत सम्पत्तिमा घर बनाएका थिए। तर, अहिले बाढीले क्षति ग¥यो,’ उनले भने, ‘खोलाको नजिक बस्ती बस्नु नै गलत भयो।’ स्थानीयले खोलाको सिरान क्षेत्रमा आइतबार अलि नै बढी वर्षा भएको अनुमान गरेका थिए। वर्षापछि बगेर आएको लेदो रोकिँदै र बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्दै आउँछ,’ उनले भने, ‘अपत्यारिले लेदोले सखाप पार्यो। झन्डै मानवीय क्षति हुन पाएन। मध्य रातिको समयमा बाढी आएको भए थप क्षति हुनसक्थ्यो ।’ आइतबार बेलुकीको बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको मुस्ताङ प्रशासनले बताएको छ।  

हिमालपारीको जिल्ला मुस्ताङ, आफैमा माटोको सहर हो। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको यो जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि मात्र लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अहिले प्राकृतिक प्रकोपले रुवाएको छ। 

मुस्ताङ आफैंमा ‘स्याडो रेन जोन’ हो। तर पछिल्लो समय मुस्ताङको परिचय फेरिदैं गएको स्थानीयले बताएका छन्। जलवायु परिवर्तनको असर बढ्दै जाँदा मुस्ताङ अहिले ‘रेन जोन’ बन्दै गएको छ। पानी पर्न थालेपछि माटोको सहर विस्तारै कंक्रिटमा बदलिन शुरु भईसकेको छ। माटोले छाएका घर चुहिन थालेपछि जस्तापाताले छाना छाउन शुरु भएको एकदशक जति भएको छ। त्यसभन्दा अघि अधिकांश घर माटोले छाईएको थियो।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसमविद् मीनकुमार अर्यालले भन्छन, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली जिल्लामा देखिन थालेको छ। माटोको शहरको मुस्ताङमा पछिल्लो समय नियमित रुपमा पानी पर्न थालेको छ। हिमाली जिल्लामा बारम्बार प्राकृतिक विपद्का घटना दोहोरिन थालेको उनले बताए। ‘प्राकृतिक प्रकोपका घटना हिमाली जिल्लामा बढिरकेका छन,’ अर्यालले भने,‘जलवायु परिवर्तन मुख्य कारण मान्न सकिन्छ।’  

भूगर्वविद् श्रीकमल द्विवेदी पनि हिमाली क्षेत्र तातिँदै जाँदा यस्ता घटनाक्रम थपिने गरेको बताउँछन। ‘ग्लोवल वार्मिङ’ को असर पक्का देखिने गरि बारम्बार घटनाक्रम हुन थालेका छन्,’ उनले भने। द्विवेदीका अनुसार हिमाली जिल्लाको चिसो मरुभूमिमा माटो पनि हिउँ जस्तै जमेर बसेको हुन्छ। त्यहाँ तातो बढेपछि हिउँ र जमिन पग्लेर पहिरो आउँछ। त्यसबाहेक हिउँ मात्र पर्ने ठाउँमा अहिले बढी पानी पर्न थालेको छ, त्यो पनि छोटो समयाम धेरै वर्षा हुने गरेको छ। यो ग्लोवल वामिङकै असर हो।  

‘प्राकृतिक प्रकोपको मुख्य क्षेत्र हिमाली जिल्ला बनेका छन्। त्यसको असर बारम्बार घटेका घटनाक्रमले देखाउन थालेको छ। अहिलेको प्रकोप त्यसैको निरन्तरता हो,’ उनले भने, ‘पानी धेरै पर्नु, नरम माटो र गेग्रान नै बग्नेगरि घटना बढेका छन।’ उनका अनुसार यस्तो स्थानमा छोटो समयमा ठुलो पानी पर्दा उक्त पानीको तापक्रम बढी हुन्छ, जसले बरफ र जमेर बसेको जमिन समेत पगाल्ने हुँदा बाढी सिर्जना भएर क्षति पुर्याउँछ।  

जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा असर पारेको उनले बताए। ‘अब स्थानीयलाई सचेत बनाउनुपर्छ। समुदायबीच प्रभावकारी ढंगले सूचना आदानप्रदान गर्ने सञ्जाल बिस्तार गर्नुपर्छ। पुरै योजनावद्ध तरिकाले काम गरेमा क्षति कम हुनसक्छ,’ उनले भने, ‘तापक्रम हामीले घटाउन सक्दैनौ, त्यसैले भविश्यमा हुने प्रकोपबाट बच्नका लागि योजना बनाउनको विकल्प छैन। यस्ता घटना अझै छिटो हुने त्रास बढिरहेको छ।’  

प्रकाशित: ३० श्रावण २०८० १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App