२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भन्सारका महानिर्देशक पौडेल भन्छन, ‘कहिलेकाही भूलचुकमा त्रुटि हुन पनि सक्छ’

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले एक क्विन्टल सुन तस्करीसम्बन्धि प्रतिवेदनमा ‘मानविय त्रुटि भएको’ कुरा आएको बताएका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालय पनि यही विभागको मातहतमा पर्छ। यसको नेतृत्व शोभाकान्त पौडेलले गरेका छन्।  

‘मानवीय त्रुटि भएको कुरा आएको छ। त्यत्रो काम गर्दा कहिलेकाहीं भूलचुकमा त्रुटि हुन पनि सक्छ। तर छानबिन भइरहेकाले अहिल्यै सबैथोक भन्न सकिन्न’, उनले नागरिकन्यूजसँग भने। पौडेलले कर्मचारीहरूको ‘मिलेमतो भए÷नभएको विषय’मा प्रस्ट रूपमा कुरा आइनसकेको उल्लेख गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको एक क्विन्टलभन्दा बढी सुन जाँचपासमा संलग्न कर्मचारीसँग भन्सार विभाग नरम देखिएको छ। विमानस्थलका कर्मचारीसमेतको मिलेमतोबिना उक्त सुन भन्सार जाँचपास भएर बाहिरिन नसक्ने जानकारहरूले बताउँदै आएका छन्।  

भन्सार विभागको छानबिन समितिले भने, ‘मानवीय त्रुटि’ भन्दै जाँचपासमा संलग्न कर्मचारीलाई उन्मुक्ति दिनेगरी प्रतिवेदन तयारी गरेको छ। विभागले बनाएको आन्तरिक छानबिन समितिको प्रतिवेदन जाँचपासमा संलग्न कर्मचारीका सन्दर्भमा नरम रूपमा आउन लागेको स्रोतले बतायो।

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिनामंगल पुगेको एक क्विन्टलभन्दा बढी सुन बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ‘ब्रेक–सु’ र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको थियो।

‘रेडी ट्रेडर्सले नै २९ पटकसम्म एकै किसिमले सामान ओसारेको देखिन्छ। यही घटनामा एक्स–रे मेसिनले बकाइदा संकेत गरेको कुरा बाहिरिइसकेको छ। भनाइको अर्थ सबैपटक एक्स–रे मेसिनले संकेत गरेको हुने नै भयो,’ जानकार स्रोत भन्छ, ‘एक्स–रे मेसिनले जानकारी दिँदादिँदै पनि भन्सारका कर्मचारीले राम्रोसँग जाँचबुझ नगर्नु भनेको सरासर मिलेमतो हो भन्ने प्रस्ट हुन्छ।’ यसरी कर्मचारीको मिलेमतो भएको विषयलाई गम्भीर तवरबाट छानबिन गरेर कारबाहीको सिफारिस गर्नुपर्ने अवस्था हुँदाहुँदै छानबिन समितिले मानवीय त्रुटि भनेर कर्मचारीलाई जोगाउनेगरी प्रतिवेदन बनाउन लागेको स्रोतको दाबी छ।

‘भन्सार विभागको नेतृत्व नै सुन जाँचपासमा संलग्न कर्मचारीलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ। यसरी नै प्रतिवेदन आउने लगभग पक्का भइसक्यो,’ विभाग स्रोतले भन्यो।

एक क्विन्टल सुन तस्करी प्रकरणअन्तर्गत हालसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्स–रे मेसिन अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका छन्। राजस्व अनुसन्धान विभागले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएर अर्थ मन्त्रालय तानिएको छ।

तस्करीको सुन भन्सार जाँचपासमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत्वसहित करिब २० कर्मचारीको भूमिका शंकास्पद रहेको राजस्व अनुसन्धान विभाग स्रोतले बतायो। यो कुरा भन्सार विभाग स्रोतले पनि बताउँछ।

१५ जना कर्मचारीको त जाँचपासका विभिन्न प्रक्रिया पुरा गरिएका कागजपत्रमा दस्तखत नै छ। यति हुँदाहुँदै पनि भन्सार विभागको प्रतिवेदन कर्मचारीका विषयमा नरम भएर आउन लागेको स्रोतको दाबी छ।

प्रकाशित: १४ श्रावण २०८० ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App