२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ। भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो।

महानगरले घोलको सीमांकन र संरक्षण गर्न उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा समिति गठन गरेर काम अघि बढाएको छ। महानगर प्रमुख रेनु दाहालले  ३० दशमलव २ किलोमिटर लामो घोललाई कम्तीमा ६ मिटर फराकिलो बनाइने बताइन्। ‘कतिपय स्थानमा चौडाइ धेरै भएकाले सीमांकनको काम सम्पन्न भएपछि वास्तविक क्षेत्रफल आउने छ’, उनले भनिन्।

प्रमुख दाहालका अनुसार घोल संरक्षण र व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा काम गर्ने गरी सघन शहरी तथा भवन निर्माण आयोजनाले १८ करोड रुपैयाँ विनियोजन गरेको छ। ‘चालु आर्थिक वर्षमा चार करोड रुपैयाँको काम गोन्द्राङमा गरिएको छ’, उनले भनिन्, ‘घोललाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न महानगरले पनि थप बजेट विनियोजन गर्छ।’

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ। भरतपुर महानगरपालिकाले गुरुयोजना निर्माण गरी घोललाई व्यवस्थित गर्न लागेको हो।

दाहालका अनुसार घोलको भुइँ र भित्तोमा पर्खाल लगाएर व्यवस्थित गरिंदै भने दायाँबायाँ साइकल लेन सहितको फुटपाथ बनाइँदै छ। फराकिलो भएका ठाउँमा उद्यान तथा व्यायामशाला बनाइने उनले बताइन्।

‘बिहानबेलुका हिंड्न र हरियालीमा रमाउन मिल्ने गरी वृक्षरोपण गरिने छ। डुंगाहरू राख्न स्थल बनाइने छ’, प्रमुख दाहालले भनिन्। उनले घोल संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन प्रदेश र संघीय सरकारसँग थप बजेट माग गरिएको बताइन्।

गुरुयोजना अनुसार काम गर्न एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने उपप्रमुख अधिकारीले बताए। उनका अनुसार घोल वडा नं  १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ। सीमांकनको काम छिट्टै सम्पन्न गरिने भन्दै सम्बन्धित वडाका अध्यक्ष र सरोकारवालालाई सहयोगका लागि उपप्रमुख अधिकारीले आग्रह गरे।

उनले घोल महानगरका लागि अत्यावश्यक र दूरगामी महत्त्व राख्ने आयोजना भएको बताए। अधिकारीले भने, ‘घोलले महानगरपालिकाको सुन्दरता बढाउँछ। यसले महानगरभित्रका डुबानको समस्या भएका क्षेत्रमा पानीको निकास पनि गर्नेछ।’

केरुङ्गा घोल निर्माण सम्पन्न भएमा सार्वजनिक सम्पत्तिको संरक्षण हुनुका साथै यहाँ बन्ने उद्यानले पर्यटकलाई पनि आकर्षण गर्न सकिने उनको भनाइ थियो।

उपप्रमुख अधिकारीका अनुसार हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुंगा चलाउने योजना रहेको छ। ‘बर्सातको समयमा पानी धेरै हुने र घोल साँघुरो भएकाले त्यहींबाट बस्तीमा पानी पस्ने समस्या समेत थियो। गुरुयोजना अनुसार काम सम्पन्न भएमा डुबानको समस्या पनि अन्त्य हुनेछ’, उनले भने।

उपप्रमुख अधिकारीका अनुसार हिउँदमा समेत नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुंगा चलाउने योजना रहेको छ।

भरतपुरको गणेशस्थानदेखि जगतपुरस्थित राप्ती नदीसम्म घोल निर्माण गरी हरियाली सौन्दर्यसँगै डुंगा चलाउँदा यहाँ आन्तरिक र बाह्य पर्यटकसमेत आकर्षित हुने स्थानीयको भनाइ छ।

प्रकाशित: ९ असार २०८० ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App