२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरको ‘सगरमाथा विमानस्थल’: साढे १३ हजार रुख कटान

रुख ढालेको प्रस्तावित विमानस्थल क्षेत्र देखाउँदै स्थानीय रुद्र अधिकारी । तस्विरः महेश्वर

उदयपुरमा प्रस्तावित ‘सगरमाथा विमानस्थल’ निर्माण गर्न रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको छ । प्रस्तावित विमानस्थल बनाउन त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगीदहस्थित मोथियाही र कङ सामुदायिक वन उपभोक्ता समूहको रुख कटान, छपान र संकलन कार्य अन्तिम चरणमा पुगेको हो ।  

विमानस्थल बनाउन ती २ वन समूहका १३ हजार ६ सय ८७ वटा रुख ढालेर विक्री वितरण कार्यसमेत सुरु भईसकेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । यही असारभित्र काम सक्ने गरी नेपाल नागरिक उड्यन प्राविधकरणले लगाएको ठेक्कामा रुख ढाल्ने, घाटगद्धी गर्ने, संकलन र चिरान गरी नापजाँच कार्य सकेर विक्री वितरण हुन थालेको डिभिजन वन अधिकृत (डिएफओ) डा. इन्द्र सापकोटाले बताए । उनका अनुसार चालु वर्ष सुरुदेखि थालेको काम सकिनै लागेको छ ।

मोथियाही सामुदायिक वन समूहका ४ हजार ३ सय ५७ वटा र कङ समूहको ९ हजार ८ सय ४९ वटा रुख ढालेर संकलन, घाटगद्धी र चिरान भईसकेको डिएपओ सापकोटाले बताए । प्राविधिक इस्टीमेट अनुसार मोथियाहीको ६२.३ हेक्टर जंगलका रुख काटिएका छन् । जसमा ३ हजार ६ सय ४७ वटा साल र ७ सय ८ वटा अन्य जातका रुख परेका छन् । त्यस्तै कङ सामुदायिक वन समूहको ४२.८ हेक्टर क्षेत्रफल जंगलबाट ९ हजार १ सय ४१ वटा सालका रुख र अन्य जातका ७ सय ८ वटा ढाल्ने इस्टीमेट विमानस्थल निर्माण विस्तृत परियोजना प्रतिबेदन (डिपिआर)मा उल्लेख रहेको सापकोटाले बताए ।  

डिभिजनका सूचना अधिकारी जागेश्वर साहले प्रस्तावित विमानस्थल निर्माण गर्न काटिएका साल र अन्य जातको गरी १३ हजार ६ सय ८७ वटा रुखबाट निस्कने काठ र दाउरा स्थानीयबासी, डिभिजन वन कार्यालय मातहतको आपूर्ति समिति र व्यवसायीलाई विक्री वितरण गर्नुपर्ने निर्देशन रहेको बताए । साहका अनुसार ठूला रुखका काठ गोलीया र चिरान गरी तथा टुप्पा र हाँगा बिगालाई दाउरा (चट्टा)को रुपमा विक्री बितरण गरिने छ । साहले दुवै समूहबाट साल र अन्य जातको गरी १ लाख ८४ हजार ६ सय ८४ क्युविकफिट काठ निस्कदै छ । मोथियाहीबाट साल ७३ हजार ३ सय ६६.१३ क्युविकफिट काठ निस्केको छ भने अन्य जातको २४ हजार ६ सय ३ क्युविकफिट छ । त्यसैगरी कङ समूहबाट साल ८३ हजार ४ सय ८१.६३ क्युविकफिट निस्कदा अन्य जातको ३ हजार २ सय ३३.६७ क्युविकफिट काठ निस्कने छ । दाउरा भने मोथियाहीबाट ३२.९० चट्टा निस्केको छ भने कङको ४८.४ चट्टा निस्कने सूचना अधिकारी साहले बताए ।  

विमानस्थल बनाउन आवश्यक जमिनको व्यवस्थापन, रुख कटान, छपान र विक्री बितरण सबै गर्ने जिम्मा नेपाल नागरिक उडृयन प्राधिकरणले लिएको छ । जस अनुसार उसले अरुण÷माँ दुर्गा शक्ति जेवीलाई काठ व्यवस्थापनको ठेक्का सुम्पेको छ । यसमा डिभिजन वन कार्यालयले भने अनुगमन र प्राविधिक सहयोग मात्र गर्ने अधिकार रहेको साहले बताए । त्यहाँ निस्केको काठ प्राधिकरणले डिभिजन वन कार्यालय गाईघाटको समन्वयमा स्थानीय उपभोक्तालाई आवश्यकता अनुसार तोकिएको न्यूनतम मूल्यमा उपलब्ध गराउनुपर्ने छ । उपभोक्तालाई दिएर बाँकी रहेको काठ परिमाणलाई १ सय मानेर ३० प्रतिशत डिभिजन वन मातहतको आपूर्ति समितिलाई र ७० प्रतिशत जिल्ला बाहिर विक्री वितरण गर्ने प्रावधान छ ।  

डिभिजलने जनाए अनुुसार त्यहाँ निकालिएको काठ पहिलो प्राथमिक्ता दिएर स्थानीयलाई उपलब्ध गराइने छ । उपभोक्तालाई उपलब्ध गराउदा समूहको कार्ययोजनामा तोकिए अनुसार मूल्यमा कटान छपान र घाटगद्धी गर्दा लागेको प्रति क्युविकफिट १ सय २० रुपैँया ७७ पैसा थप शूल्क लाग्नेछ । त्यस्तै दाउरा खरिद गर्न चाहनेहरुका लागि संकलन खर्च प्रति चट्टा १४ हजार ९ सय ७२ रुपैँया अतिरिक्त मूल्य लिएर उपलब्ध गराउने सरकारी मापदण्ड रहेको छ । उपभोक्तालाई दिएर उब्रेको बाँकी काठ जिल्लाबाहिर विक्री वितरण गर्दा भने काठको स्तर (ए, बि, सि र डि) ग्रेड अनुसार राजश्वसहित मूल्यमा बढाबढ प्रक्रियाबाट बिक्री वितरण गर्नु पर्ने साहले बताए ।

रुढ ढाल्ने, संकलन र घाटगद्धी गर्ने, चिरान गर्नेलगायत सम्पूर्ण काठको व्यवस्थापनको जिम्मा प्राधिकरणले ठेक्कामार्फत गरेको र डिभिजनले अनुगमन र प्राविधिक व्यवस्थापन गर्ने जिम्मा मात्र पाएको डिएफओ सापकोटाले बताएका छन् । उनका अनुसार जोगीदह बन्ने विमानस्थलले १ सय ५.१ हेक्टर अर्थात झण्डै ४ सय १६ विगाह क्षेत्रफल जमिन ओगट्नेछ । रुख विरुवा मासेर काठ व्यवस्थापन गरिसके लगत्तै विमानस्थलको भौतिक पूर्वाधार संरचना निर्माणको काम थालिने तयारी भईरहेको छ । त्यसका लागि पनि प्राधिकरणले यसअघि नै ठेक्का लगाईसकेको जनाएको छ । 

प्रकाशित: १ असार २०८० १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App