२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकीमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन: हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो  कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ। ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृत रूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ।

प्रदेशभित्रका हरेक स्थानीय तहमा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्न लघुउद्यम कार्यक्रममार्फत लक्षित वर्गलाई आयआर्जन र रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। लघु घरेलु उद्यमीको उत्पादित वस्तुको बजारीकरणका लागि प्रदेश स्तरमा बिक्रीकक्ष स्थापना गर्ने नीति लिइने सरकारले उल्लेख गरेको छ।

संघ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका कास्की र तनहुँको पुँडीटार, नवलपुरको लोकाहाखोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणकार्यलाई प्राथमिकता दिइने भनिएको छ।

स्थानीय स्रोत, सीप तथा प्रविधिमा आधारित घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ। आधुनिक प्रविधिको प्रयोग गरी स्थानीय रूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने सरकारले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App