१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

माछापुच्छ्रेमा नयाँ पर्यटकीय मार्ग

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको खुमैडाँडामा गाउँ कार्यपालिकाको बैठकपछि जनप्रतिनिधि तथा कर्मचारीहरू। तस्बिर: नागरिक

माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोर्चङ सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ।शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको पालिका बैठकले सरिपाखा, हिलेखर्क, खुमैडाँडा हुँदै कोर्चङसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो।साथै त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए।

पर्यटकीय क्षेत्र घोषणा गरिएका चरिपाखा, खुमैडाँडा र कोर्चङ तीनवटै पर्यटकीय क्षेत्र हुन्। जहाँबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ। पोखराबाट नजिकको क्षेत्र र हिउँ पनि पर्ने भएकाले सो क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुईंचो लाग्ने गर्छ। दशैंपछि नयाँ पर्यटकीय गन्तव्यको खोजीका क्रममा खुमैडाँडालाई ब्राण्डिङ र प्रवद्र्धन गर्न थालिएपछि यो ठाउँ अहिले सामाजिक सञ्जालमा भाइरल छ। कोर्चङबाट भने सूर्योदयको दृश्यावलोकन पनि गर्न सकिन्छ।

गाउँपालिकाको बैठकले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने तथा ती पर्यटकीय क्षेत्रमा थुप्रिने गरेको फोहोरमैला व्यवस्थापन गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए। ‘पछिल्लो समय फोहोरमैला र जलवायु परिवर्तनको असर चुनौतिका रूपमा देखिएकाले त्यसको समाधान र न्यूनीकरणका लागि पहल गर्ने बैठकको निर्णय छ’– उनले भने।

माछापुच्छ्रे गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पालिकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको खुमैडाँडामा बैठक राखेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। त्यस क्रममा सो क्षेत्रमा देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने कामबारे जानकारी लिनु पनि बैठकको उद्देश्य रहेको उनको भनाइ छ। समुन्द्री सतहदेखि ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडामा बैठक बस्न गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ र उपप्रमुख सीताकुमारी अधिकारी पोखराबाट हेलिकोप्टर चढेर गएका थिए।

प्रकाशित: १४ चैत्र २०७९ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App