१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको निर्देशनमा निर्मला कुर्मी प्रकरणकाे अनुसन्धान गर्दै सीआइबी

फाइल तस्बिर

निर्मला कुर्मीको लागि न्याय मागिरहेकी रुबी खानसहित महिला अधिकारकर्मी र सरकारबिच ३ बुँदे सहमति भएको छ।  

सहमतिपछि ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले धर्नाका कार्यक्रम स्थगित गरेका छन्।

मंगलबार बिहान आन्दोलनरत महिलाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ध्यानआकर्षणपत्र बुझाएका थिए। यससँगै प्रधानमन्त्रीले गृह सचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि साँझ गृह मन्त्रालयका गृह सचिवसहितको टोली माइतीघरमा पुगी धर्नारत महिलाहरू सँग तीन बुँदे सहमति गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सीआइबीलाई अनुसन्धानको लागि खटाएको छ। 

उनले भने, ‘अब हामीले सीआइबीलाई खटाएका छौँ। उहाँहरूले क कसको नेतृत्वमा टोली गठन गर्नु हुन्छ उहाँ हरुकै हातमा छ।’

०७८ भदौ १३ गते रुबी खानको नेतृत्वमा नेपालगञ्जबाट आएका ३० देखि ३५ जना महिलाको समूहले धर्ना दिइरहेका थिए। उनीहरु न्यायका लागि भन्दै असोज १ गते पैदल यात्रा गरेका थिए भने २१ गते काठमाडौं आइपुगेका थिए। 

काठमाडौं आइपुगेसँगै माइतीघरमा १९ दिन धर्ना दिएका थिए। अन्ततः २०७८ असोज २४ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले निर्मला कुर्मीको  हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका थिए भने त्यसै दिन आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले काँग्रेस नेता बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निक्र्यौलसहितको प्रतिवेदन उनलाई बुझाएका थिए।

यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको थियो। काँग्रेस नेता कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन्।

माइतीघरको १९ दिने हड्तालसँगै रुबीको टोलीले दोस्रो पटक मंसिर ९ गते फेरि काठमाडौं आई ४२ दिनसम्म आन्दोलन गरेका थिए। 

यति गर्दा पनि आफ्नो माग पूरा नभएको भन्दै रुबी तेस्रो चरणको आन्दोलनका लागि फेरि काठमाडौं आएकी हुन।

यहि पुस ३० गते तत्कालीन गृहमन्त्री रवी लामिछानेले माईतीघर मण्डालामा रुबी खानलाई भेटि घटनाको छानबिन गर्न सीआइबीलाई निर्देशन दिएका थिए। 

२०७९ माघ ९ गते आन्दोलनरत अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यस दिन शिल्पी थिएटरका युवाहरूले सडक नाटक पनि देखाएका थिए। 

सीआइबीका प्रवक्ता कमल थापाका अनुसार निर्मला कुर्मीको जस्ता घटनाहरु हाम्रो पहिलो प्राथमिकतामा रहेको छ। 

उनले भने, ‘निर्मला कुर्मी, निर्मला पन्त जस्तो घटनाहरु हाम्रो प्राथमिकतामा छ। सधैँ रही नै रहन्छ। हामीले पहिलै देखि यसको फाइलहरु हेरिहेका छौँ। अनुसन्धानको लागि हामीले एआईजी देखि एसपीज्यूहरू सम्म बसेर यसको बारेमा छलफल गरेका थियौँ। अनुसन्धान भई नै रहेको छ।’ उनले यस विषयमा पहिला गरेकाे अनुसन्धान कर्मीहरुले विस्तृत जानकारी दिएकाे बताए। 

‘ हामीले तत्कालीन गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि पनि यसको अनुसन्धान गर्न पुराना फाइलहरु खोतलेका थियौँ। त्यसपश्चात् पुनः गृह मन्त्रालयबाट अनुसन्धानको लागि निर्देशन आउने जानकारी पाएको छु। तर अहिले सम्म निर्देशन आएको छैन। भोलि सम्म आउँछ होला,’ थापाले भने।

के हो निर्मला कुर्मी प्रकरण?

एक दिन निर्मलाको अपहरण भयो। अपहरण गरेको भन्दै रुवीले ०७७ साल मंसिर १४ गते उजुरी दिइन्। उजुरी दिएको एक महिना नपुग्दै निर्मलाको हत्या भयो। फेरि सदरमुकाम गएर प्रहरीमा रुवीले उजुरी दिइन्। उजुरी दिन रुवीले गरेको संघर्ष कठिन थियो।

नेपालगन्जको परसपुर ९ की निर्मला कुर्मी एकल महिला थिइन्। उनका पति महालु कुर्मीको ०६२ सालमा मृत्यु भयो। ०६६ साल कात्तिकमा दुई छोरा रामसागर र सुरेशको एक साताको फरकमा बिरामी परी मृत्यु भयो। एक्ली निर्मलाका साथमा पाँच बिघाभन्दा बढी जमिन थियो।

निर्मलाले २०६६ साल माघ १८ गते नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगन्जमा एउटा निवेदन दर्ता गराइन्। सो निवेदनमा काँग्रेस नेता बादसाह कुर्मीले जग्गा जमिन हडप्ने उद्देश्यले आफ्नो नागरिकताका साथै लोग्ने र छोराका नाममा रहेको लालपुर्जा लुटेर लगेको, नाता प्रमाणितको कागजका साथै घरको अनाजसमेत लुट्न मान्छे परिचालन गरेकाले भागेर गाउँमा बसेको उल्लेख गरेकी छिन्।

यही क्रममा निर्मला जिल्ला प्रशासन कार्यालयबाट फर्कँदै गर्दा भृकुटीनगर चोकबाट अपहरणमा परिन्। प्रहरी र महिलाअधिकारकर्मीको टोलीले खोजतलास गरी निर्मलाको उद्धार गर्‍यो र जिल्ला प्रशासन कार्यालय अन्तरगत सेल्फ सेल्टरमा राखियो।

जिल्ला प्रशासनले पटक९पटक बोलाउँदा पनि बादशाह कुर्मी हाजिर हुन मानेनन्। त्यसपछि नेपालगन्जमा महिलाअधिकारकर्मी, मानवअधिकारकर्मीहरुले सडकमा प्रदर्शन गरे। विरोध प्रदर्शनपछि बादशाह जिल्ला प्रशासनमा हाजिर भए र कागजातहरु फिर्ता दिँदै माफी मागे।

कागजातहरु फिर्ता पाएको केही दिनमै, अर्थात २०७५ माघ २५ गते रातिदेखि निर्मला कुर्मी बेपत्ता भइन्। पछि उनी मृत भेटिइन्। महिला अधिकार मञ्चले दिएको जाहेरी अनुसार २०७५ माघ २५ गते राति बादसाहसहितको टोलीले अपहरण गरेको उल्लेख छ।

प्रकाशित: २ फाल्गुन २०७९ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App