३ वैशाख २०८२ बुधबार
image/svg+xml २१:५७ अपराह्न
राजनीति

शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस

सत्तारूढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग विगतमा भएका सम्झौताअनुसार छिटो आउनुपर्ने बताएको छ।

देशभरका शिक्षकहरूले काठमाडौँमा अहिले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। सरकारले संसदको हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने भने पनि पारित नगरी अधिवेशन अन्त्य गरेको छ। शिक्षकहरूको आन्दोलनसँगै नेपाली कांग्रेसले शिक्षक संघ संगठनसँग विगतमा भएका सम्झौताहरू अक्षरशः कार्यान्वयन गर्दै यथाशिघ्र विधेयक पास हुनुपर्ने बताएको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयनको ग्यारेन्टी लिनुपर्ने र यथाशिघ्र संसदबाट विधेयक पारित गर्नुपर्ने बताए। उनले संसदले कानुन निर्माण गर्ने सवालमा अकर्मण्यता देखाएको आरोप लगाउँदै विद्यालय शिक्षा विधेयक बनाउनका लागि सबैले सम्झौता गरेर अघि बढ्न जरुरी रहेको बताए।

शिक्षाको प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्म भ्वाङ परेको उल्लेख गर्दै यसलाई सुधार गर्नेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिए। सबैले अधिकार मात्रै खोज्ने नभइ कर्तव्यबोध गर्न जरुरी रहेको उल्लेख गरे।

शिक्षा विभाग प्रमुख महरले शिक्षक संघ संगठनसँग नेपाल सरकारले विगतमा शिक्षा विधेयक यथाशिघ्र पास गर्नेदेखि शिक्षा भित्रका सुधारका बारेमा भएका सम्झौताको अक्षरशः पालना हुनुपर्छ भन्ने कांग्रेसको धारणा र अडान रहेको जिकिर गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाइकेपछि संसदहरूले बनाउनुपर्ने कानुनहरू तीन सयभन्दा बढी रहेको उल्लेख गर्दै यथाशिघ्र उक्त कानुनहरू बनाउनुपर्ने बताए। सडकमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे सरकार र सदन बेखबर बन्न नहुने उनको भनाइ छ।  

शिक्षा विभाग प्रमुख महरले फास्ट ट्रयाकमा शिक्षा पारित गरेर शिक्षकहरूका माग सम्बोधन गर्न आग्रह गरे। संसदको बजेट अधिवेशन सुचारु भएको एक हप्ताभित्रै शिक्षा विधेयक पारित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २२ चैत्र २०८१ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App