२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

लागूऔषध सहित विभिन्न स्थानबाट १० जना समातिए

फाइल।

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १ किलो ७ सय ८० ग्राम सहित भारतीय नागरिक ४० वर्षीय मत्रा अलि अकबर सोमबार दिउँसो पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरको हो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।  

यसैगरी, काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट र नगद ५४ हजार ४ सय ४५ ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-२१ घर भएका २२ वर्षीय सुरेन्द्र गुप्तालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने २८ वर्षीय प्रकाश योङहाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, कोहलपुर नगरपालिका-१० चटार बस्ने ३५ वर्षीय विनोद थारू र २५ वर्षीय रोहित कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट हाईस्कुलबाट खटिएको प्रहरीले विनोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम, ३ हजार ३ सय ४० नेपाली रूपैयाँ र ३ हजार ३ सय ५१ रूपैयाँ भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत दिल्ली भारतनगर पत्थरवाला वाग बस्ने ३४ वर्षीय मोहम्द नसिम र बजिरपुर बस्ने २६ वर्षीय मो. इनायतुल्ला रहेका छन्। प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सर्लाही, ईश्वरपुर नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो २ सय २० ग्राम सहित सोही नगरपालिका-१२ घारीबथान बस्ने ३२ वर्षीय संजिव भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० नयाँ चोक बस्ने ४० वर्षीय मनराज तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ चमन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ कलुवापुर बस्ने २८ वर्षीय मनोज रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उल्लेखित सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८२ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App