२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनको तयारीमा युवाको उत्साह

नवलपुरमा मतदाता नामावली दर्ता गर्नेको भीड

निर्वाचन आयोग । फाइल तस्बिर

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको मतदाता नामावली सङ्कलनमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

असोज १० गतेदेखि सुरु भएको नामावली दर्ता अभियानमा हाल दैनिक रूपमा नयाँ मतदाता दर्ता गर्न आउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद भुसालले जानकारी दिए ।  

‘सुरुवातमा दुई–चार जना मात्रै आउनुहुन्थ्यो, अहिले त दैनिक ५० जनासम्म दर्ता गर्न आउनुहुन्छ,’ भुसालले भने, ‘अनलाइन प्रणाली लागू भएपछि प्रक्रिया झन् सहज भएको छ।’

मोबाइलबाटै फर्म भर्ने सुविधा

भुसालका अनुसार, अहिले धेरैजसो युवाले मोबाइलमै अनलाइन फर्म भरेर कार्यालयमा आउने गरेका छन्। अफलाइन रूपमा फर्म भर्न नजान्नेहरूलाई कार्यालयले नै सहजीकरण गरेर सहयोग पुर्‍याउने गरिएको छ।

अहिलेसम्म ४९१ जना नयाँ मतदाताले नामावली दर्ता गराइसकेका छन्। जसमध्ये ३१४ जना पुरुष र १७७ जना महिला रहेका छन्।

‘पहिलो पटक भोट हाल्ने मौका, निकै उत्साहित छु’ मध्यविन्दु नगरपालिका–१५ का जेन-जी संगम भण्डारी पाँच जना साथीसँगै मतदाता दर्ता गर्न आएका थिए। उनी भन्छन्, ‘यसपालि भोट हालेर राम्रो मान्छेलाई जिताउनुपर्छ भन्ने लागेर नाम दर्ता गर्न आएका हौं।

पहिलो पटक भोट हाल्ने अवसर पाउने भएकोले निकै उत्साहित छु।’

कावासोतीबाट बढी सहभागिता

कार्यालयका अनुसार, सदरमुकाम कावासोती क्षेत्रबाट दर्ता गर्न आउनेहरू सबैभन्दा धेरै छन् । जबकि जिल्लाका पहाडी पालिकाबाट सहभागिता न्यून छ।

निर्वाचन कार्यालयले गाउँ–गाउँका हुलाक कार्यालय र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरी नागरिकलाई नाम दर्तामा सहभागी हुन आह्वान गरेको छ।

कात्तिक ३० गतेसम्म नामावली दर्ता खुला

मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य कात्तिक ३० गतेसम्म जारी रहनेछ। निर्वाचन आयोगले नागरिकहरूलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ । जसका कारण स्थानीय तहमा मतदाता शिक्षा र पहुँच विस्तारका कार्यहरू पनि तीव्र भइरहेका छन्।

प्रकाशित: ३१ आश्विन २०८२ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App