२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रको हेलिकोप्टर प्रकरणमा के भन्यो निर्वाचन आयोगले ?

रास्वपाका वरिष्ठ नेता बालेन शाह हेलिकोप्टरमार्फत गन्तव्यतर्फ जाँदै बीच बाटोबाटै फर्किएको घटनाबारे निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ।

मतदान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले परम्पराअनुसार नै दलका शीर्ष नेताहरूलाई हेलिकोप्टर प्रयोगको अनुमति दिइँदै आएको बताए।

उनका अनुसार विगतदेखि नै पार्टीका उच्च नेता तथा उनीहरूका सहयोगीलाई आवश्यकताअनुसार हेलिकोप्टर प्रयोग गर्न अनुमति दिने प्रचलन रहेको छ। ‘परम्परादेखि नै पार्टीका उच्च नेता र उहाँका सहयोगीलाई हेलिकोप्टरको अनुमति दिँदै आएका छौँ। सोही अनुसार केही दललाई अनुमति दिएका हौँ, र नेताहरूले स्वीकृति अनुसार प्रयोग पनि गर्नुभएको छ,’ उनले भने।

हेलिकोप्टर काठमाडौं फर्किएपछि रास्वपाका नेता शाहको सचिवालयले आयोगको अनुमति लिएर यात्रा सुरु गरिएको भए पनि सुरक्षाका कारण बीच बाटोबाट फर्किनु परेको जनाएको थियो। तर यस विषयमा निर्वाचन आयोगले कुनै औपचारिक विज्ञप्ति जारी नगरेको भण्डारीले स्पष्ट पारे।

उनले भने, ‘केही नेताहरू हेलिकोप्टरको स्वीकृति लिएर बीच बाटोमा पुग्दा सुरक्षाका कारण यात्रा अगाडि बढाउन उपयुक्त नभएपछि फर्किएको प्रारम्भिक जानकारी पाएका छौँ। तर यसबारे कुनै विज्ञप्ति जारी भएको जानकारी आयोगलाई छैन। यदि कतैबाट विज्ञप्ति आएको भनिएको छ भने त्यसबारे पनि हामी अध्ययन गर्नेछौँ।’

प्रकाशित: २१ फाल्गुन २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App