उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू पदको लोभमा नभई मुलुकको आर्थिक रूपान्तरणका लागि राजनीतिमा होमिएको बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले आफूमाथि लागेको ‘बगौडा मन्त्री’ को आरोपको खण्डन गर्दै देशलाई कठिन मोडबाट निकास दिएको दाबी गरे।
उनले जेन-जी आन्दोलनपछिको विषम परिस्थितिमा आफूहरूले ठोस कार्यसम्पादन मार्फत देशलाई ‘सेफ ल्यान्डिङ’ गराएको जिकिर गरे।
‘हामीले देशलाई एउटा संकटपूर्ण अवस्थाबाट सुरक्षित अवतरण गरायौँ,’ घिसिङले भने, ‘अब आगामी सरकारमार्फत मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानु नै हाम्रो मुख्य लक्ष्य हो।’
नेपालको ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको आफ्नो अनुभवलाई जोड्दै उनले अहिले देशको सबैभन्दा ठूलो समस्या राजनीतिमा रहेको बताए।
‘मैले ऊर्जा क्षेत्रको लोडसेडिङ त अन्त्य गरेँ, तर देशमा अहिले त्योभन्दा भयानक राजनीतिक लोडसेडिङ छ,’ उनले भने, ‘जबसम्म राजनीतिक क्षेत्रको यो लोडसेडिङ अन्त्य हुँदैन, तबसम्म मुलुकमा दिगो सुधार सम्भव छैन।’
पछिल्लो राजनीतिक विकासक्रमलाई नियाल्दै अध्यक्ष घिसिङले सक्षम र योग्य व्यक्तिहरू राजनीतिबाट टाढा रहन नहुने धारणा राखे।
उनले निर्वाचनपछि सरकारलाई गाली गर्नुभन्दा निर्वाचनकै समयमा सही र योग्य प्रतिनिधि छनोट गर्न आम मतदातालाई आग्रह गरे। ‘चुनावपछि पछुताउनु र सरकारलाई सराप्नुभन्दा पहिले नै योग्य व्यक्तिलाई छानेर पठाउनु बुद्धिमानी हुन्छ,’ उनले थपे।
घिसिङले आफूमाथि लाग्ने गरेका राजनीतिक आरोपहरूलाई कामबाटै जवाफ दिने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रकाशित: २ फाल्गुन २०८२ १७:३८ शनिबार





