१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २३:० अपराह्न
राजनीति

जमिनबाट लगातार पानी त निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन : मुख्यमन्त्री सिंह

फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताएका छन्। बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नु मात्र समाधान नभएको स्पष्ट पारे।

'जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिन थालेको छ। जमिनबाट लगातार पानी त निकालिन्छ, तर पुनः सोस्ने वातावरण छैन। पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्,' मुख्यमन्त्री सिंहले भने, 'त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनु आवश्यक छ।'

उनले ‘रेनवाटर हार्वेस्टिङ’ (वर्षाको पानी सङ्कलन प्रणाली) र जमिनले वर्षाको पानी सोस्ने वातावरण सृजना गर्न आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री सिंहका अनुसार अहिलेका सडक, ढल र नालाहरू ‘सिमेन्टेड’ भएकाले वर्षाको पानी जमिनमा पस्यो भनेर सोच्नै नसकिने अवस्था छ। उनले भने, 'पानी सडकबाट नालामा र त्यसपछि खोलामा पुग्छ। जमिनसम्म टच नै हुँदैन। जमिनले पानी सोस्न नपाउँदा भूमिगत जल पुनःभरण प्रक्रिया अवरुद्ध भएको छ।'

मुख्यमन्त्री सिंहले चुरे संरक्षणलाई पनि पानी पुनःभरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने बताए। 'चुरे क्षेत्र तराईका लागि पानीको मुटु हो। त्यहाँको वनस्पतिले पानीलाई रोक्छ र विस्तारै जमिनमा पठाउँछ। तर अहिलेको अनियन्त्रित दोहन, फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ,' उनले चिन्ता व्यक्त गरे।

उनले स्थानीय तहलाई घर नक्सापास गर्दा ‘रेनवाटर हार्वेस्टिङ’ अनिवार्य बनाउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आग्रह गरे। यी कामहरू अभियानकै रूपमा अगाडि बढाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहको भनाइ छ।

यस वर्ष मधेसलाई सुक्खा प्रदेश घोषणा गरिसकिएको छ। पचास प्रतिशतभन्दा कम रोपाइँ भएको छ। भूजलको सतह घट्दै गएको र जमिनको क्षयीकरणले भविष्यमा मरुभूमिकरणको खतरासमेत बढेको मुख्यमन्त्रीको भनाइ थियो।

प्रकाशित: १६ श्रावण २०८२ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App