१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जिल्ला प्रतिनिधि भन्छन्: गुट हाेइन, एकढिक्का हुनुपर्छ

एमाले ११ औं महाधिवेशन

नेकपा एमालेको महाधिवेशनमा जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। महाधिवेशनस्थलमा नागरिकसँग कुरा गर्दै प्रतिनिधिहरूले गुटबन्दी अन्त्य गरी साझा उद्देश्यका साथ एमाले अघि बढ्नुपर्ने बताएका हुन्।

रसुवाबाट प्रतिनिधिका रूपमा आएकी सिर्जना लामाले पछिल्लो समय एमालेमा देखिएको आन्तरिक मतभेद र फरक धारले पार्टी संगठन कमजोर भएको बताइन्। उनले देश विषम परिस्थितिमा रहेका बेला एमाले एक हुनुपर्ने बताइन्। उनले यो अवस्थामा सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउने स्पष्ट सन्देश दिनुपर्छ। सक्षम नेतृत्व, नीति, विचार र संगठन बनाउनुपर्छ।’

यस्तै भूमिसरा धिताल पनि एमालेमा गुटउपगुट नहोउन भन्ने चाहन्छिन्। उनले जनताको विश्वास पुनः जित्न नेतृत्व तहमा आपसी समझदारी, अनुशासन र एकताको संस्कार आवश्यक रहेको औंल्याइन्। महाधिवेशन मार्फत नीति तथा कार्यक्रमलाई समयसापेक्ष परिमार्जन गर्दै जनजीविकासँग जोडिएका मुद्दा प्राथमिकतामा राख्नुपर्ने उनले बताइन्। ‘एमालेमा गुट हुनु हुँदैन। हामी सबै एमाले हौं। हामी प्रतिनिधि एमाले एक भएको देख्न चाहन्छौं’, उनले भनिन्।

जुम्लाबाट प्रतिनिधि बनेर आएकी मेनका पछाईंले जेनजी आन्दोलनले उठाएका अधिकांश मुद्दा जायज भएको र ती माग एउटै पुस्ताका लागि मात्र नभएर समग्र नेपालीको हितमा भएकाले आत्मसात् गर्न एमाले लाग्नुपर्ने बताइन्।

एमालेका अगाडि धेरै चुनौती रहेका कारण पार्टीपंक्ति एकजुट भएर सामना गर्नुपर्ने उनको भनाइ छ। एमालेमा आबद्ध युवापंक्ति ठुलो रहेकाले पछिल्लो पुस्ताको भावना सजिलै बुझ्न सक्ने पार्टी यही भएको उनको दाबी छ। उनले भनिन्, ‘त्यसअनुरूप हाम्रो पुस्ताका माग सम्बोधन गर्न एमालेको भूमिका महत्त्वपूर्ण छ।’

यसैगरी रसुवाबाटै प्रतिनिधि भएर आएका सुरेन्द्र लम्साल एमाले महाधिवेशनबाट रूपान्तरण हुनुपर्ने बताउँछन्। ‘नयाँ सोच र जाँगरका साथ पार्टी अगाडि बढ्नुपर्छ। देश र परिस्थितिअनुसार पार्टी चल्नुपर्छ’, उनले भने।

उनले पनि एमाले फुट्न नहुने भनाइ राखे। ‘यो देशलाई अग्रगामी निकास दिने एमाले नै हो’, उनले भने, ‘यसकारण एमाले एक ढिक्का हुनुपर्छ।’ उनले मुलुकको रूपरेखा कोर्ने पार्टी भएकै कारण एमालेमा पुस्तान्तरण र रूपान्तरण आवश्यक भएको पनि औंल्याए। उनले नयाँ सोच र जाँगरका साथ नयाँ नेतृत्व पनि आउनुपर्ने बताए।

बर्दियाबाट प्रतिनिधि बनेर आएकी लीला राणाले एमाले मुलुकको प्रमुख राजनीतिक शक्ति भएको बताइन्। उनले पार्टीमा आन्तरिक एकता अझै सुदृढ गरी राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिकामा निर्वाह गर्न पार्टी सफल हुने विश्वास व्यक्त गरिन्। यो महाधिवेशनले पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्दै नयाँ ऊर्जा र दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको उनले बताइन्।

बाँकेकै अर्की प्रतिनिधि सुधा चौधरीले जनताको भरोसा पुनःआर्जन गर्न नेतृत्व तहमा सहकार्य, अनुशासन र सामूहिक निर्णयको संस्कार आवश्यक रहेको बताइन्।

महाधिवेशनमा २२ सय ६२ प्रतिनिधि सहभागी छन्। अध्यक्ष केपी शर्मा ओलीले शनिबार ११औं राष्ट्रिय महाधिवेशन रिमोटबाट पार्टी झन्डा फहराएर उद्घाटन गरे।महाधिवेशनको बन्दसत्र आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट नीति, नेतृत्व र संगठनसम्बन्धी मत्त्वपूर्ण निर्णय हुने एमालेले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८२ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App