१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

रविले आफै स्वीकारेका छन्: ‘भिजिट भिसा’मा अमेरिका गएँ, उतै बसेँ

भिजिट भिसा प्रकरणलाई लिएर एक महिनाभन्दा बढी समयदेखि संघीय संसद्मा हल्लाखल्ला चलिरहेको छ। गृहमन्त्री रमेश लेखकको नाम मुछ्दै सुरुमा नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले संसद् अवरुद्ध पारेका थिए। पछि माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै संसद् सुचारु गराएको थियो। 

तर, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भने चित्त बुझाएका छैनन्। रास्वपा एक कदम अघि बढेर अझ चर्को रूपमा लेखक विरुद्ध उत्रिएको छ। प्रतिनिधिसभा बैठक चलेका दिन रास्वपाका सांसदले पहिले बैठकमा उठ्छन्, आफ्नो कुरा राख्छन्, नाराबाजी गर्दै बैठक बहिस्कार गरेर निस्कन्छन्। 

बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसदले गृहमन्त्री लेखकमाथि लामो समयदेखि नैतिकताको सङ्गिन प्रश्न उठाइरहेकै छन्। 

यही क्रममा बुधवारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले उल्टै रास्वपामाथि नैतिकताको प्रश्न तेर्स्याए । उनको प्रश्न पनि भिजिट भिसासँग सम्बन्धित नै थियो। जुन रास्वपा सभापति रवि लामिछानेसँगै जोडिएको थियो। 

‘माननीय रवि लामिछानेजी, जो यही सम्मानित सदनको सदस्य पनि हुनुभएको थियो, अहिले परिस्थिति एउटा छ। उहाँ कुनै समयमा संयुक्त राज्य अमेरिकामा भिजिटरकै रूपमा जानुभएको थियो रे भन्ने कुरा सुनेँ,’ गृहमन्त्री लेखकले भने,‘भिजिटरका रूपमा जाने भनेको भिजिट भिसा हो। एक किसिमको भिजिट भिसा नै हो।’ 

त्यसपछि उनले आफूले केही कुरा जान्न खोजेको बताए। उनले भने,  ‘मैले जान्न खोजेको उहाँ भिजिटरका रूपमा अमेरिकामा जानुभएको हो कि होइन ? यदि भिजिट भिसा अथवा भिजिटर वा निश्चित समय अर्को देश बसेर फर्किएर आउने भिसामा जानुभएको होइन भने के भिसामा कुन भिसामा जानुभएको हो, त्यो जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।’ 

यदि लामिछाने भिजिट भिसामै अमेरिका गएको भए त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? गृहमन्त्री लेखकले प्रश्न गरे। ‘..अनि भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन?,’ उनले भने। त्यसपछि उनले ‘भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ?’ भनेर पनि प्रश्न गरे। 

गृहमन्त्री लेखकले अहिले यो प्रश्न तेर्स्याए पनि रास्वपा सभापति लामिछाने आफैले भने वर्षौँ अघिको एक टेलिभिजन अन्तर्वार्तामा आफू ‘भिजिटरका रूपमा’ अमेरिका गएको स्वीकार गरेका छन्। सगरमाथा टेलिभिजनको ‘एसटिभी च्याट’ नामक संवाद कार्यक्रममा लामिछानेले उक्त कुरा आफै बताएका छन्। 

यो टेलिभिजन अन्तर्वार्ता लामिछाने अमेरिकामै बस्दाको देखिन्छ। उक्त अन्तर्वार्ताको भिडियो ‘पपुलर शोज’ नामक युट्युब च्यानलमा १५ जनवरी २०१३ मा पोस्ट भएको छ। 

प्रस्तोता समीर सागरले ‘तपाईँ नेपालमा धेरै राम्रो प्रोफाइल बनाइसक्नुभएको मान्छे । निकै राम्रा राम्रा प्रोग्रामहरू गर्नुहुन्थ्यो, गीतसंगीतमा पनि त्यत्तिकै सशक्त भूमिका तपाईँको देखिन्थ्यो । एकाएक बिचमा हराउनु भयो, यानी कि पलायन नै हुनुभयो कि,  भन्ने धेरैबाट गुनासो पनि सुनियो कारण के थियो?’ भनी प्रश्न सोधेका छन्। 

जसको उत्तरमा उनले नेपालमा हुँदाको आफ्नो संघर्ष देखि भिजिटरका रूपमा अमेरिका गएको र त्यहाँको लुकेर बस्नुपर्दाको प्रसङ्ग सुनाएका छन्। 

लामिछानेले केके भनेका छन्? 

म त्यतिखेर एकदमै सक्रिय रूपमा थिएँ। रेडियोमा, टेलिभिजनमा, स्टेजको प्रोग्रामहरू धेरै थेँ। विज्ञापनहरू पनि धेरै गर्थेँ। म एकदमै धेरै सक्रिय थिएँ। 

त्यतिखेर म नेपाल टेलिभिजनमा यहाँको चलन भने कार्यक्रम सञ्चालन गरिरहेको थिएँ । यहाँको चलनको कनट्र्याक्ट सकियो।  सकियो भन्दा नि सकाइयो अब त्यसलाई त्यसको मैले धेरै प्लान गर्‍या थिएँ । मैले एकदमै धेरै मेहनत र प्लान ग¥या थिएँ । पछिल्लो पटक मैले फेवातालको बिचमा सेट लाएर, तालमा नै सबैलाई राखेर, गेस्ट(पाहुना) त्यसै गरी डुंगा चढेर आउने,  त्यसरी कार्यक्रम बनाइरहेको थिएँ । धेरै गाह्रो काम थियो त्यो। 

त्यसपछि कुनै कारण बस्, त्यो कार्यक्रमको पछि जस्ता तयारी गरेर गएको थिएँ, त्यसलाई निरन्तरता दिन सक्नुभएन। मतलब अब म कसैलाई दोष त दिन चाहन्न,  मेरै दोष थियो । किनभने मैले उहाँलाई राम्रो हुन्छ, भन्ने कन्भिन्स गर्न सकेको भए निरन्तरता पाउँथ्यो । त्यति धेरै तयारी गरिसकेको कार्यक्रमलाई रोक्नु पर्दाखेरि ममा एक किसिमको  नैराश्यता आयो। 

अनि त्यो बिचमा म जापानमा प्रोग्राम गर्न गइसकेको थिएँ, मेरो साथी गायक रामकृष्ण ढकालसँग। म जापान र युकेको भ्रमणमा गइसकेको थिएँ। अनि अलि अलि विदेशका कार्यक्रमहरू बारेमा थाहा भइसकेको थियो। 

अनि त्यसपछि अनि मैले बिचमा अनि के विचार गरेँ–अब म अमेरिका जान्छु, अब म पढ्छु। अनि मैले ब्रोडकास्ट जर्नलिजम पढ्ने विचार गरेँ। 

एकदम धेरै प्लान गरेको थिएँ। त्यो कार्यक्रमको लागि मैले मैले माइती नेपालमा कुरा गर्‍या थिएँ। माइती नेपालको दश वटा एपिसोड बनाउँदै थिएँ। त्यहाँको एकदम क्रिम क्रिम, कस्तो कस्तो स्टोरिजहरू थियो  । त्यसलाई लिएर बनाउन लागेको थिएँ। 

अनि मैले यहाँको चलन नो पोलिटिक्स भनेर पोलिटिसियनहरुलाई ल्याएर नन पोलिटिकल कुरा गर्ने। यस्तो यस्तो योजना थिए। त्यो सबै नहुँदा एक किसिमको नैराश्यता आयो।  ‘मेबी आइ वाज टु यंग’। त्यतिखेर म धेरै युवा पनि थिएँ, मैले राम्रोसँग डिसाइड पनि गर्न सकिनँ होला। आफू कति लोकप्रिय छु अथवा छैन भन्ने पनि। 

त्यो भएर पनि म अमेरिका गएँ।  अमेरिका गइसकेपछि त्यतिखेरको त्यहाँको इमिग्रेसन रुल(अध्यागमन नियम) कस्तो थियो भने कोही पनि मान्छे एज अ भिजिटर, म चाहिँ भिजिटरका रूपमा त्यहाँ गएको थिएँ। भिजिटरका रूपमा गएको मान्छेले आफ्नो स्टुडेन्ट भिसामा त्यसलाई ट्रान्सफर गर्न सक्दैन, स्टुडेन्ट बन्न सक्दैन त्यो। 

विद्यार्थी बन्न नसकेपछि त्यहाँ के आइडिया आयो भने–यस्तो भयो भने त्यहीँको परमानेन्ट रेसिडेन्सी(स्थायी आवासीय अनुमति) फाइल गर्‍यो भने चाहिँ सकिन्छ है भन्ने सिलसिला चल्यो। 

अनि ‘परमानेन्ट रेसिडेन्सी फाइल गर्न मिल्छ है तिमीहरू जस्तो मान्छेले’ भनेर मलाई सधैँ सहयोग गर्ने, सबै नेपालीलाई सहयोग गर्ने आदरणीय दाजु प्रेमराजा महतले बताउनुभयो मलाई । उहाँले धेरै सहयोग गर्नु भयो। 

उहाँको सरसल्लाह बमोजिम मैले त्यो प्रयास सुरु गरेँ । तर त्यसले एकदम लामो समय लियो, त्यो लामो समय लिँदा–लिँदा पेन्डिङ भयो । त्यसले गर्दा जिन्दगीले अर्कै मोड लियो । नचाहँदा नचाहँदै उतै हराउनु पर्‍यो। 

प्रकाशित: २५ असार २०८२ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App